निर्वाचन मुलुकलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबिचको लडाईं होः महासचिव पोखरेल


काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किज्मका नाममा नेपाली समाजलाई विभाजित गर्ने दुष्प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । जेन–जी आन्दोलनको नाममा युवापुस्ताको भावनामाथि खेल्दै विदेशी शक्तिले देशमाथि प्रभाव जमाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।

महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू जेन–जी युवाहरूको आन्दोलनलाई अपहरण गरी देशविरोधी शक्तिले आफ्नो नियन्त्रणमा लिएको उदाहरण भएको टिप्पणी पनि गरे ।

उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन राष्ट्रका पक्षमा उभिने शक्ति र विदेशी इसारामा भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने शक्तिबीचको द्वन्द्वको रुपमा हेरिनुपर्ने तर्क गरे।

आगामी निर्वाचनलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको छनोटका रूपमा जनतामाझ लैजानुपर्ने आवश्यकता रहेको पनि बताए । मुलुकलाई जलाउने नभई बनाउने शक्तिले मात्रै देशलाई समृद्धिको बाटोमा लैजानसक्ने भन्दै युवाहरूलाई त्यसको पक्षमा भूमिका खेल्न आह्वान गरे ।

पोखरेलले अहिले राजनीतिक दलहरूसँगै राज्यसत्तामाथि भएको प्रहार देशभक्त नागरिकले गर्न नसक्ने भन्दै विदेशी शक्तिको हात रहेको आंशका गरे ।