काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको दाबी गरेका छन्।
शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका मतदातासँग आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले पछिल्लो समय देखिएको युवा पुस्ताको असन्तुष्टि र आन्दोलनलाई काँग्रेसले गम्भीर रूपमा सुनेको र बुझ्ने प्रयास गरिरहेको बताएका हुन् ।
महामन्त्री पौडेलले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई केवल अराजकताका रूपमा चित्रण नगरेको स्पष्ट पार्दै उक्त आन्दोलनले समग्र नेपाली समाजका साझा मुद्दा उठाएको धारणा राखे । उनले आन्दोलनमा राजनीतिक विषय थिएन भन्ने कुरा आफूहरूले कहिल्यै नभनेको उल्लेख गर्दै एक पुस्ताको नाममा उठेको आन्दोलन भए पनि त्यसले सम्पूर्ण नेपालीको आवाज बोलेको बताए ।
सुशासन सबै नेपाली जनताले चाहेको साझा चाहना भएको उल्लेख गर्दै उहाँले नागरिक स्वतन्त्रता प्रयोग गर्ने विषयमा कुनै पनि प्रकारको बन्देज हुनु नहुनेमा जोड दिए। अति राजनीतिकरणको अन्त्य र सुशासनको आवश्यकता सबैले महसुस गरेको विषय भएको उहाँको भनाइ थियो। भदौ २३ र २४ को जेन–जी आन्दोलनका मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको र त्यसलाई गम्भीरतापूर्वक सुनेको दाबी पनि उनले गरे ।
महामन्त्री पौडेलले उक्त आन्दोलनपछि काँग्रेसप्रति पनि खबरदारी भएको स्वीकार गर्दै पार्टीले आफूलाई परिमार्जन गर्दै अघि बढिरहेको बताए। युवा पुस्ताको आवाज सुन्ने र त्यसलाई नीतिगत तथा व्यवहारिक रूपमा सम्बोधन गर्ने सवालमा काँग्रेस प्रतिबद्ध भएर अघि बढेको उनको भनाइ थियो।
आफूले अघिल्लो निर्वाचनका बेला गरेका सबै प्रतिबद्धता पूरा गर्न नसकेको स्वीकार गर्दै उनले कुनै पनि गलत काम नगरेको स्पष्ट पारे। सरकारमा रहेर समस्याहरू र तिनका समाधानका उपायहरू बुझ्ने अवसर पाएको बताउँदै अनुभवबाट धेरै कुरा सिक्न पाइने उल्लेख गरे । राज्य प्रणालीलाई शत प्रतिशत बुझिसकेको दाबी नगरे पनि अघिल्लो समयभन्दा अहिले धेरै स्पष्टताका साथ समस्या र समाधान पहिचान गर्न सक्ने अवस्थामा पुगेको उनले बताए ।
महामन्त्री पौडेलले आफू यसअघि जिताउँदा बेलाको जस्तै अहिले पनि उस्तै रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि विश्वास गर्न मतदातासमक्ष आग्रह गरे। नयाँपन खोजिँदा केवल अनुहार फेर्ने मात्रै नभई सकारात्मक परिणाम खोजिनुपर्ने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्