७० वर्ष माथिका ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच गर्न काठमाडौँ महानगरको सर्वेक्षण माघ १८ देखि सुरू हुने


काठमाडौँ । ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले स्वास्थ्य अवस्था सर्वेक्षण सुरु गर्ने भएको छ । महानगरले माघ १८, २०८२ देखि घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा विवरण संकलन गर्ने तयारी गरेको हो ।

कार्यक्रमअन्तर्गत सर्वेक्षणमा खटिने नर्सिङ् कर्मचारीलाई आवश्यक तालिम दिइसकिएको छ । साथै स्वास्थ्य परीक्षणका उपकरण, औषधि तथा तथ्याङ्क संकलनका लागि ट्याब्लेटलगायत सामग्रीसमेत उपलब्ध गराइएको छ । घरमै पुगेर गरिने यस सर्वेक्षणमार्फत शारीरिक अशक्तता, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा नियमित स्वास्थ्य संस्थामा जान कठिनाइ भएका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिने महानगरपालिकाले जनाएको छ ।

सर्वेक्षणमा खटिने स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै कार्यवाहक प्रमुख सुनिता डंगोलले यो कार्यक्रम केवल पदीय जिम्मेवारी नभई मानवीय सेवाको कामसमेत भएको बताइन् । उनले भनिन्, “कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई ‘हाम्रा लागि पनि कोही रहेछन्’ भन्ने अनुभूति गराउने गरी काम गर्नुपर्छ । नतिजा निकाल्ने दबाबभन्दा पनि उहाँहरूको अवस्था बुझ्ने र भरोसा दिलाउने आचरण आवश्यक छ ।”

बदलिँदो सामाजिक परिवेशका कारण सन्तान विदेशमा र आमाबुबा स्वदेशमै बस्नुपर्ने अवस्था बढ्दै गएको उल्लेख गर्दै डंगोलले कागजमा आधारित विवरणले मात्र वास्तविक स्वास्थ्य अवस्था थाहा नहुने बताइन्। यसका लागि महानगरले टेलिमेडिसिन प्रणाली विकास गर्दै विदेशमा रहेका सन्तानलाई अभिभावकको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने तयारी गरिरहेको उनको भनाइ छ । उनले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरिने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

कार्यक्रम आर्थिक रूपमा कमजोर तथा सहयोग गर्ने परिवारजन नभएका ज्येष्ठ नागरिकलाई केन्द्रमा राखेर सञ्चालन गर्न लागिएको हो । घरमै स्वास्थ्यकर्मी पठाएर परीक्षण, उपचार तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सर्वेक्षण सुरु गरिएको स्वास्थ्य विभागले जनाएको छ ।

सर्वेक्षणमा संलग्न नर्सिङ् कर्मचारीलाई पाँच दिनको अभिमुखीकरण प्रदान गरिएको छ । स्वास्थ्य जाँचका लागि ब्लडप्रेसर मोनिटर, ग्लुकोमिटर, डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर, स्वास्थ्य अभिलेख फाराम, भेट लगबुक तथा ट्याब्लेट उपलब्ध गराइएको छ । यस्तै प्राथमिक उपचारका सामग्री र पारासिटामोल, आइबुप्रोफेन, एन्टासिड, ओआरएस, एलर्जी औषधिलगायत आधारभूत औषधिसमेत प्रदान गरिएको छ ।

स्वास्थ्य विभागका प्रमुख दीपक के.सी.का अनुसार कार्यक्रममार्फत औषधि व्यवस्थापन, पोषण परामर्श, मानसिक तथा सामाजिक अवस्था सुदृढीकरण, दीर्घ रोग नियन्त्रण र आकस्मिक अवस्थाका लागि रिफरल प्रणाली विकास गरिनेछ । साथै व्यायाम, मानसिक स्वास्थ्य र सरसफाइका विषयमा परामर्श दिइनेछ । सङ्कलित तथ्याङ्कका आधारमा आगामी दिनमा ज्येष्ठ नागरिक लक्षित बजेट, योजना तथा कार्यक्रमलाई यथार्थपरक बनाइने उनले बताए ।

कार्यक्रमका फोकल पर्सन तथा अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठका अनुसार ज्येष्ठ नागरिकसम्म सहज पहुँचका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय गरिनेछ । “ज्येष्ठ नागरिक भेट्न र आवश्यक संवादका लागि छिमेकी तथा स्थानीयको सहयोग आवश्यक हुन्छ । यसमा सकारात्मक साथ पाइने अपेक्षा गरेका छौँ,” उनले भनिन् ।