दश वर्षअघि जनताको अपेक्षा पूर्वाधार विकासमा थियो, अहिले लगानीमैत्री वातावरण नै हो : सचिव भट्टराई


काठमाडौँ । नेकपा एमालेका सचिव राजन भट्टराईले राजनीतिक दलका घोषणापत्रमा जनताले पूर्वाधार विकास भन्दा पनि रोजगारी र शिक्षाको एजेन्डा अपेक्षा गरेको बताएका छन् ।

आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा काठमाडौँमा आयोजित दलका घोषणापत्रमा ’आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा केही नभएको भनेर एकतर्फी भाष्य निर्माण भइरहेको भन्दै यसको खण्डन गरेका छन् ।

उनले भने,“कतिपयले केही पनि भएन भन्ने एकतर्फी भाष्य निर्माण गर्न खोजिरहेका छन्, जुन सरासर गलत हो। हामीमध्ये धेरैले १० वर्ष अघिको नेपालको पूर्वाधार अवस्था देखेका छौँ। राजनीतिक अस्थिरताका बाबजुद पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ—सडक, खानेपानी, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवा विस्तार भएका छन् ।”

अब जनताका अपेक्षा रोजगारी, स्वास्थ्य, प्रदूषणमुक्त वातावरण, ट्राफिक व्यवस्थापन, गुणस्तरीय शिक्षा र उद्यमशीलतामा केन्द्रित भएको उनको दाबी छ ।

उनले भने, “अहिलेको प्राथमिकता सुशासन र लगानीमैत्री वातावरण निर्माण हो। राजनीतिक स्थिरता नभएसम्म लगानीकर्ताले विश्वास गर्दैन। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र कानुनी जटिलताको अन्त्य नगरी न आन्तरिक न वैदेशिक लगानी आकर्षित हुन्छ ।”

उनका अनुसार अहिले बैंकहरूमा तरलता थुप्रिएको छ, तर लगानीको वातावरण नबन्दा पुँजी परिचालन हुन सकेको छैन ।

सचिव भट्टराईले भने,“देशभित्रकै लगानीकर्ता सुरक्षित महसुस गरिरहेका छैनन् । यस्तो अवस्थामा वैदेशिक लगानी भित्र्याउने कुरा अझ चुनौतीपूर्ण हुन्छ । विश्व परिवेश बुझेर मात्रै नेपालमा व्यावहारिक नीति अघि सार्नुपर्छ । ”

भट्टराईका अनुसार अन्तर्राष्ट्रिय परिस्थिति पनि तीव्र रूपमा बदलिँदै छ। नियममा आधारित विश्व व्यवस्था कमजोर बन्दै गएको छ, जसको असर नेपालजस्ता मुलुकमा प्रत्यक्ष पर्छ ।

उनले त्यसलाई बेवास्ता गरियो भने दीर्घकालीन समस्या निम्तिन सक्ने चिन्ता व्यक्त गरे । उनले भने, “त्यसैले हामीले ग्लोबल र क्षेत्रीय सन्दर्भलाई बुझेर व्यवहारिक नीतिहरू अघि सार्नुपर्छ ।”

उनले डेमोक्रेसी आएपछि नागरिकका अपेक्षा स्वाभाविक रूपमा बढ्ने भए पनि अपेक्षा र उपलब्धिबीचको खाडल कसरी पुर्ने—यो आजको मुख्य चुनौती रहेको जिकिर गरे ।

सचिव भट्टराईले भने,“यथार्थमा उभिएर व्यवहारिक र प्राग्म्याटिक दृष्टिकोण अपनाउनु आवश्यक छ। वैदेशिक लगानी भित्र्याउँदा हामी उदार हुनुपर्छ, तर केही संवेदनशील क्षेत्रमा चयनात्मक दृष्टिकोण पनि आवश्यक हुन्छ ।”

उनले अहिलेको पुस्ताले त्याग गरे मात्रै अर्को पूस्ताले सहज ढंगले जिवत व्यतित गर्न सक्ने औंल्याए ।

उनले भने, “मुलुकको निर्माण सधैँ एउटा पुस्ताको त्यागबाट सम्भव भएको छ। कोरिया, जापान लगायत मुलुकहरूले त्यही बाटो हिँडेका हुन्। हामी पनि त्यही त्याग गर्ने पुस्तामा छौँ। राजनीतिक वातावरण बनाइसकेका छौँ, अब आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ । आगामी १०–२० वर्षभित्र देशलाई स्पष्ट मार्गमा लैजान हामी सबै एकमतका साथ अघि बढ्नुपर्छ ।”