काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २१ जना व्यक्ति तथा संस्थासँग स्पष्टिकरण सोधेको छ।
आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित पक्षसँग स्पष्टिकरण सोधिएको जानकारी दिए ।
प्रवक्ता भट्टराईका अनुसार स्पष्टिकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको छ भने बाँकीको जवाफ आउने क्रममा छ।
उनले आचारसंहिता उल्लङ्घनका घटनाको अध्ययन र विश्लेषण गर्न आयोगले कार्यदल गठन गरेको जानकारी दिए । कार्यदलले प्राप्त स्पष्टिकरणको अध्ययन गरी कारबाही गर्ने वा नगर्ने भन्ने निर्णयसहित केन्द्रीय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उनले बताए ।
नियतवश आचारसंहिता उल्लङ्घन भएको पुष्टि भए आयोगले कानुन बमोजिम थप कारबाही गर्ने प्रवक्ता भट्टराईले स्पष्ट पार्नुभयो। “कसैलाई सफाइको मौका नदिई कारबाही गर्न हुँदैन भन्ने व्यवस्था कानुनमा छ। त्यसैले आयोगले पहिले स्पष्टिकरण सोध्छ। तर स्पष्टिकरण सोधियो भन्दैमा कारबाही हुँदैन भन्ने होइन,” उनले भने।
हाल उजुरीको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उनले उजुरी २३ पुगेको जानकारी आए पनि औपचारिक रूपमा २१ वटामा प्रक्रिया अघि बढाइएको बताए ।
आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन जिल्लास्तरमा समेत अनुगमन संयन्त्र परिचालन गरिएको आयोगले जनाएको छ। आर्थिक पक्षको अनुगमनका लागि सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई र अन्य विषयको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी तोकिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
यसैबिच निर्वाचन आयोगले डिजिटल माध्यमबाट मिथ्या सूचना प्रसारण गर्नेहरूलाई पहिचान गरी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।
आयोगअन्तर्गतको निर्वाचन सूचना संप्रेषण तथा समन्वय केन्द्र (ईआईडीसी) का निकायहरूले गलत सूचना, मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने सामग्रीको पहिचान गरेको प्रवक्ता भट्टराईले बताए ।
उनका अनुसार हानिकारक सूचना फैलाउने १२० वटा सामग्री विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ।
त्यस्तै, ६ वटा सामग्री दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणमा, १५ वटा सामग्री प्रेस काउन्सिल ऐन, २०४८ अनुसार प्रेस काउन्सिल नेपालमा र निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनसम्बन्धी ३४ वटा सामग्री केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको उनले जानकारी दिए ।
प्रवक्ता भट्टराईका अनुसार आयोगको कल सेन्टरमा हालसम्म १ हजार ६७७ वटा प्रश्न प्राप्त भएका छन्। तीमध्ये सबैभन्दा बढी ९०६ वटा प्रश्न मतदाता नामावलीसम्बन्धी रहेका छन् भने आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य विषयका ५७५ वटा प्रश्न प्राप्त भएको आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्