काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले सिमसार क्षेत्रको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापनका लागि सहकार्य आवश्यक रहेको बताएका छन्।
जलिय प्राकृतिक सम्पदा र सिमसार क्षेत्रको संरक्षण तथा दिगो व्यवस्थापनप्रति सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले फेब्रुअरी २ मा मनाइने विश्व सिमसार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री परियारले कुरा बताएका हुन् ।
उनले सिमसार क्षेत्रले जैविक विविधता संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
उनले सिमसार क्षेत्रले सिंचाइ, मत्स्यपालन, जलविद्युत्, पर्यटन तथा सांस्कृतिक मूल्यका माध्यमबाट देशको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउँदै आएको बताए।
मन्त्री परियारका अनुसार नेपालको कुल क्षेत्रफलको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ। नेपालमा रहेका करिब २४२ वटा सिमसार क्षेत्रमध्ये १० वटा अन्तर्राष्ट्रिय महत्वका रामसार क्षेत्रका रूपमा सूचीकृत छन्। हिमाल, पहाड र तराई क्षेत्रमा फैलिएका यस्ता सिमसार क्षेत्रहरू प्राकृतिक रूपमा अत्यन्तै उर्वर र मनोरम मानिन्छन्।
उनले सिमसार क्षेत्र जैविक, सामाजिक, पर्यावरणीय तथा आर्थिक दृष्टिले अत्यन्तै मूल्यवान प्राकृतिक प्रणालीको हिस्सा भएको उल्लेख गर्दै यस्ता क्षेत्रले निःशुल्क वातावरणीय सेवा तथा आवश्यक स्रोत उपलब्ध गराइरहेको बताए। साथै सिमसार क्षेत्र कार्बन संचितीकरण, जलस्रोत संरक्षण तथा स्थानीय समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण आधार बनेको उनको भनाइ छ।
नेपाल रामसार महासन्धि, जैविक विविधता महासन्धि र जलवायु परिवर्तन महासन्धिको पक्षधर राष्ट्र भएकाले सिमसार संरक्षणप्रति कानुनी रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री परियारले सिमसार संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न ऐन र नीतिहरू कार्यान्वयनमा रहेको जानकारी दिए।
यद्यपि, एकोहोरो दोहन, प्रदूषण, मिचाहा प्रजातिको विस्तार र अव्यवस्थित मानवीय गतिविधिका कारण सिमसार क्षेत्रको अवस्था दिनानुदिन कमजोर बन्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।
सिमसार क्षेत्र प्रत्यक्ष रूपमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित भए पनि कृषि, उद्योग, सिंचाइ, ऊर्जा र स्थानीय तहसँग समेत जोडिएको विषय भएकाले सरोकारवाला निकाय र स्थानीय समुदायबिच समन्वय, सहकार्य र साझेदारी अपरिहार्य रहेको मन्त्री परियारले बताए।
वातावरणीय दिगोपन, मानव कल्याण र भावी पुस्ताको हितका लागि सिमसार क्षेत्रको संरक्षण साझा एजेन्डा बन्नुपर्ने उनको जोड छ।


प्रतिक्रिया दिनुहोस्