सांसद र मेयर पद छोडेर संसदीय चुनाव लड्न भगौडा र धोकेबाज प्रेमीजस्तै जनप्रतिनिधि भागेः सांसद परियार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद पदम परियारले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ठूलो संख्यामा जनप्रतिनिधिहरूले आफ्नो कार्यकाल पूरा हुनुअघि नै राजीनामा दिएको विषयप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद परियारले ३० जना भन्दा बढी प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखहरूले निर्वाचनमा उम्मेदवार बन्न कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएका हुन्। उनले संविधानको धारा ८६, १७७ र २१५ अनुसार संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकिएको स्मरण गराए ।

उनले भने, “जनताबाट प्राप्त जनादेश र संविधानप्रति गरिएको शपथ बिर्सेर पद त्याग गर्ने प्रवृत्तिले राज्यलाई अनावश्यक आर्थिक भार थपेको छ। भगौडा र धोकेबाज प्रेमीजस्तै यस्ता जनप्रतिनिधिहरूले जनताको विश्वास र संविधान बिर्सिएका छन्। यसरी उपनिर्वाचन गराउन बाध्य पारेर राज्यको ढुकुटिमा करोडौँ रुपैयाँको भार परेको छ।”

सांसद परियारले सरकार र संसदको ध्यानाकर्षण गराउँदै विद्यमान कानूनमा संशोधन गरी जनताप्रति उत्तरदायी संसदीय राजनीतिक संस्कार स्थापित गर्न आवश्यक भएको पनि जोड दिए ।

उनका अनुसार आगामी निर्वाचनमा सहभागि हुन अधिकांश प्रदेश सांसद र स्थानीय तहका प्रतिनिधिहरूले समयअघि नै राजीनामा दिएका छन्, जसले निर्वाचन व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ।