नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ २१ फागुनको निर्वाचन : प्रधानमन्त्री कार्की


काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन केवल जनप्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको सुरुआतका रूपमा स्थापित हुनुपर्ने बताएकी छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिएकी हुन् ।

उनले निर्वाचनलाई सफल बनाउन राज्यका स्रोत तथा साधन केन्द्रित गरिएको उल्लेख गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाइएको बताइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना सुदृढ रूपमा कार्यान्वयनमा ल्याइएको छ भने सबै सुरक्षा निकाय परिचालित गरिएका छन्। साथै, जेन–जी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको जानकारी पनि उनले सभालाई गराइन्।

उनले सरकार सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ अघि बढिरहेको दाबी गरिन् ।

भ्रष्टाचार न्यूनीकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको पनि प्रधानमन्त्री कार्कीले बताइन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सबै दललाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरिन् ।उनले प्रतिनिधि सभा निर्वाचनलाई नेपालको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दुका रूपमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।