काठमाडाैँ । आयोडिन मन्थ २०८२ (फेब्रुअरी २०२६) को अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले उपभोक्तालाई गुणस्तरीय आयोडिनयुक्त नून मात्र उपभोग गर्न आग्रह गरेको छ।
मञ्चले नूनको अत्यधिक प्रयोग नगर्न तथा भ्रमपूर्ण प्रचारमा नपर्न उपभोक्तालाई सचेत गराएको हो।
मञ्चले जारी गरेको प्रेस विज्ञप्तिमा नूनको बिक्री वितरणमा विगतदेखि नै देखिँदै आएको बेथिति, विकृति र कालोबजारीका कारण सरकारले विक्रम सम्बत् २००९ सालदेखि निगरानी सुरू गरेको र २०२० सालदेखि संस्थागत रूपमा आयोडिनयुक्त नूनको वितरण गर्दै आएको उल्लेख गरिएको छ।
आयोडिनयुक्त नूनको उपभोग, गुणस्तर र वितरण प्रणालीका विषयमा पछिल्ला तीन दशकदेखि सकारात्मक तथा नकारात्मक प्रचार हुँदै आएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको भनाइ छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुअरी महिनाभर मनाइने आयोडिन मन्थ नेपाल सरकारले विभिन्न चेतनामूलक कार्यक्रममार्फत सञ्चालन गर्दै आएको छ।
यसैक्रममा राष्ट्रिय उपभोक्ता मञ्चले पनि विगत २० वर्षदेखि आयोडिन मन्थलाई आफ्नो वार्षिक कार्यक्रमका रूपमा देशव्यापी सचेतनामूलक गतिविधि गर्दै आएको मञ्चका अध्यक्ष महर्जनले जानकारी दिए ।
आयोडिनयुक्त नूनको उपभोगबारे समाजमा अनेक टीकाटिप्पणी र भ्रम फैलाउने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरिएको छ। केही स्वार्थप्रेरित समूह, संस्था वा व्यक्तिहरूले ‘आयोडिनयुक्त नून खानु हुँदैन’ भन्ने भ्रामक प्रचार गर्दै आएको मञ्चको आरोप छ। यस्तो भ्रमले आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने मञ्चको ठहर छ।
नेपालमा बढ्दो शहरीकरण, बदलिँदो खानपान संस्कृति र तयारी तथा पत्रु खाद्य पदार्थको बढ्दो उपभोगका कारण नूनको मात्रा पनि अत्यधिक प्रयोग हुन थालेको स्वास्थ्यसम्बन्धी अधिकारीहरूले जनाएको उल्लेख विज्ञप्तिमा गरिएको छ।
स्वास्थ्य मापदण्डअनुसार दैनिक करिब ५ ग्राम नून पर्याप्त हुनेमा हाल उपभोक्ताले १० देखि २० ग्रामसम्म नून सेवन गरिरहेको तथ्यप्रति मञ्चले ध्यानाकर्षण गराएको छ। दैनिक आवश्यकताभन्दा बढी नून नखान मञ्चले सबै उपभोक्तालाई अपील गरेको छ।
यस्तै केही निजी स्वार्थ भएका व्यवसायीहरूले नूनको कारोबार निजी क्षेत्रलाई खुला गर्नुपर्ने तर्क गर्दै अस्वस्थ र गुणस्तरहीन नून अवैध रूपमा बिक्री वितरण गर्दै आएको आरोप पनि मञ्चले लगाएको छ।
नूनको कारोबारसम्बन्धी ऐन, २०५५ कार्यान्वयन नभएको विषयमा सर्वोच्च अदालतको २०८२ असार ३२ गतेको अन्तरिम आदेशका कारण तत्कालका लागि उक्त ऐन लागू नगर्ने निर्णय भएको उल्लेख गर्दै मञ्चले यस विषयमा कुनै पनि भ्रममा नपर्न उपभोक्तालाई आग्रह गरेको छ।
मञ्चले नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड पूरा गरेको आयोडिनयुक्त नून मात्र उपभोग गर्न आग्रह गर्दै ‘गुणस्तरीय आयोडिनयुक्त नून खाऔँ, स्वस्थ रहौँ’ भन्ने सन्देश दिएको छ।


प्रतिक्रिया दिनुहोस्