काठमाडौँ । पुष्प व्यवसायको विकास, संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान) ले यस वर्ष पनि ‘२७ औं फ्लोरा एक्स्पो २०८२’ आयोजना गर्दैछ।
यस वर्षको मेला ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत्र ५ गतेदेखि ८ गतेसम्म काठमाडौँकाे भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङका अनुसार मेलामा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरीय फूल र आलंकारिक बोटबिरुवाबिच विभिन्न विधामा प्रतिस्पर्धा गराउनेछन्।
प्रतिस्पर्धामा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने आलंकारिक बिरुवा, उत्कृष्ट पुष्प सजावट र उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेसन) जस्ता विधाहरू समावेश छन्।
एकै नर्सरी वा फर्मले अधिकतम तीन विधामा मात्र सहभागीता जनाउन सक्ने व्यवस्था गरिएको छ। प्रतिस्पर्धामा उत्कृष्ट हुने नर्सरी वा फर्मलाई मेला उद्घाटन समारोहमा सिल्ड, नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।
फ्यानका अनुसार फ्लोरा एक्स्पोमा नर्सरी व्यवसायी, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात–निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता र ठूलो संख्यामा उपभोक्ताहरूको सहभागिता रहने भएकाले यसलाई व्यवसाय प्रवर्द्धनको महत्वपूर्ण अवसरको रूपमा लिइएको छ।
स्टल बुकिङ आउँदाे माघ २२ गते बिहीबार बिहान १० बजेदेखि फ्यान कार्यालयमा ५० प्रतिशत अग्रिम शुल्कसहित खुल्ला हुनेछ। स्टल शुल्क फ्यान सदस्यका लागि रु. २९ हजार र गैर सदस्यका लागि रु.५० हजार तोकिएको छ। रेष्टुरेन्ट स्टलको शुल्क रु. ५०हजार निर्धारण गरिएको छ।


प्रतिक्रिया दिनुहोस्