झापा–५ मा केपी ओलीकै जित हुने दाबी, बालेनप्रति भ्रममा नपर्न उपाध्यक्ष गुरुङको आग्रह


काठमाडाैँ । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले झापा क्षेत्र नम्बर ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गरेका छन्।

मंगलबार काठमाडौँमा प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र साहले झापा ५ मा निर्वाचन जित्न नसक्ने जिकिर गरेका हुन्।

काठमाडौँको सुकुम्बासी बस्ती र गरिखाने सडकका नागरिकमाथि डोजर चलाएको विगतका कारण बालेनप्रति विश्वास गर्न नसकिने उनको भनाइ थियो।

उपाध्यक्ष गुरुङले झापा ५ का सुकुम्बासी नागरिकलाई बालेनले लालपूर्जा दिलाइदिन्छन् भन्ने भ्रममा नपर्न आग्रह गरे ।बालेनको विगत, वर्तमान र भविष्य हेर्दा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्छन् भन्ने कुरा विश्वासयोग्य नभएको उनले बताए ।

उनका अनुसार रास्वपाले झुटा प्रचारमार्फत एमालेको चुनावी अभियानलाई कमजोर बनाउने नियतले झापा ५ मा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गराउन बालेनलाई उम्मेदवार बनाएको हो। “यो निकै ठूलो डिजाइनका साथ गरिएको काम हो,” उनले भने, “एमालेभित्र टेन्सन सृजना गर्ने र अध्यक्ष ओलीको देशव्यापी चुनावी अभियानलाई कमजोर बनाउने मनसाय देखिन्छ।”

उपाध्यक्ष गुरुङले हल्ला र भ्रम फैलाएर जनतालाई झुक्याउने प्रयास भइरहेको आरोप पनि लगाउनुभयो। “जित्यो बालेनले भन्ने हल्ला चलाइयो, तर २१ गते नतिजा आएपछि जित्ने केपी ओली नै हुनुहुन्छ,”उनले भने। हालसम्मको अनुभवका आधारमा एमाले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी पनि उनले दोहोर्याए ।

यसै क्रममा उपाध्यक्ष गुरुङले जनताले नयाँ अनुहारभन्दा पनि सुधारसहितका पुराना राजनीतिक दललाई नै विकल्पका रूपमा रोज्ने सङ्केत देखिएको बताए ।