काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नैतिकतालाई प्रवर्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग, नेपालसँग समझदारी गरेको छ ।
आज आयोग परिसरमा आयोजित कार्यक्रममा अयोग र टिकटकबिच समझदारीपत्र आदान–प्रदान गरिएको हो ।
सहकार्य अन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन आचारसंहिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला समेत सञ्चालन गरेको थियो ।
कार्यशालामा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्धन , भ्रामक सूचना नियन्त्रण गर्ने उपाय र सरोकारवालाहरूबिच निर्वाचनको गरिमा सम्बन्धि बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो ।
आसन्न आम निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यशालामा आयोगका पदाधिकारीहरूलाई टिकटकले आफ्नो प्लेटफर्मले निर्वाचन प्रक्रियाको संरक्षण कसरी गर्छ भन्नेबारे जानकारी गराएको थियो ।
यस क्रममा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना , राजनीतिक सामग्री तथा भ्रामक व्यवहारसम्बन्धी नीतिहरूबारे प्रस्तुति दिइएको थियो ।
साथै, प्रयोगकर्ताले विश्वसनीय सूचना पहुँच गर्न, सम्भावित उल्लङ्घनबारे जानकारी गराउन र निर्वाचनसम्बन्धी सामग्री प्लेटफर्ममा कसरी व्यवस्थापन गरिन्छ भन्ने बुझ्न सहयोग गर्ने टिकटकका उपकरण तथा सुविधाबारे पनि जानकारी गराइएको थियो ।
“कुनै पनि लोकतन्त्रका लागि निर्वाचन अत्यन्त महत्वपूर्ण क्षण हो, र सार्वजनिक संवादलाई आकार दिने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छ । यस सहकार्य मार्फत हामीले सचेत सहभागिता प्रवर्धन गर्ने, निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य राखेका छौँ,” टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्तकिनले भने ।
“डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग र निर्वाचन आचारसंहिता प्रवर्धनका लागि टिकटकसँगको यो सहकार्यलाई निर्वाचन आयोग स्वागत गर्दछ।
यस्ता सहकार्यहरूले भ्रामक सूचनाबारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागितालाई टेवा पुर्याउँछन्,” निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।
टिकटकले निर्वाचन आचारसंहिता सुदृढ गर्न र नेपाली समुदायका लागि विश्वसनीय सूचनाको वातावरण बनाउन आयोग तथा अन्य सरोकारवालासँगको निरन्तर रूपमा सहकार्य गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्