काठमाडाैँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् ।
झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्भवतः निर्वाचन फागुन २१ मै हुने बताएका हुन् ।
यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले निर्वाचन फागुन २१ मै हुनसक्ने र फागुन २१ मा हुन नसके वा केही समय पछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको उल्लेख गरे ।
देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको उनकाे भनाइ छ। वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसाबले एमाले नै राष्ट्रिय हितहरुको रक्षा र संवद्र्धनको नेतृत्व गर्ने पार्टी भएको बताए ।
उनले भने, “चुनाव आउँदैछ । सम्भवतः चुनाव हुन्छ । सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ । यो सम्भवतः नै हो । यदी फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ । चुनावमा जित्नुपर्नै पार्टी नेकपा एमाले हो । एमाले नै जित्नुपर्ने पार्टी हो । देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले हो । वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसावले कुन हिसावले भन्नुहुन्छ, राष्ट्रको जायज राष्ट्रिय हितहरुको रक्षा र संवद्र्धनको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । यसकारण यस पार्टीले नै जित्नुपर्छ ।”
अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरुले गति लिएको बताए ।


प्रतिक्रिया दिनुहोस्