काठमाडाैँ । राष्ट्रिय सभाका नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले संसद पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले समयमै फैसला नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढुंगानाले अदालतको ढिलासुस्तीप्रति प्रश्न उठाएका हुन् ।उनले सर्वोच्च अदालतका न्यायाधीशहरू यति धेरै निरीह भएको अवस्था आफूले यसअघि कहिल्यै नदेखेको जिकिर गरे ।
पञ्चायतकाल र राजतन्त्रको समयमा समेत संवेदनशील मुद्दामा छिटो फैसला हुने गरेको दृष्टान्त प्रस्तुत गर्दै सांसद ढुंगानाले अहिलेको अवस्था गम्भीर चिन्ताको विषय बनेको बताए। संसद पुनःस्थापनाजस्तो राष्ट्रिय महत्वको विषयमा मुद्दा विचाराधीन रहँदा पनि फैसला नआउनु राष्ट्रियतामाथि नै प्रश्न खडा भएको उनको भनाइ थियो।
“यो देशको राष्ट्रियता कमजोर भयो। संसद पुनःस्थापनाका लागि मुद्दा परेको छ, तर न्यायाधीशहरू यति निरीह देखिनु भयो। किन नेपालको न्यायपालिका यस्तो अवस्थामा पुग्यो, मलाई थाहा छैन,” उनले भने, “पञ्चायत र राजाको शासनकालमा समेत राजकाजसँग सम्बन्धित मुद्दामा तत्काल फैसला हुने गर्थ्यो, तर आज त्यो अवस्था देखिँदैन।”
सांसद ढुंगानाले सरकारप्रति पनि कटाक्ष गर्दै राष्ट्रिय हितका सवालमा आवश्यक गम्भीरता र संवेदनशीलता देखाउन नसकेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्