काठमाडाैँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथिको दफावार छलफल सकिएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सहमति हुन नसकेका विषयहरु प्रतिवेदनमै छलफल गर्नेगरी दफावार छलफल सकाएको हो ।
नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भएको हुनाले उक्त महासन्धिको कार्यान्वयन गराउन भन्दै यो विधेयक ल्याइएको हो । बैठकमा बोल्दै समिति सभापति तुलसाकुमारी दाहालले छलफलमार्फत टुंग्याएका विषयहरुलाई मस्यौदा प्रतिवेदनको रूपमा तयार पार्न समिति सचिवालयलाई निर्देशन दिए ।
उनले भाषिक तथा सहमति जुट्न नसकेका विषयहरुमा आवश्यक गृहकार्य गर्न संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिए । उनले सहमति जुट्न नसकेका विषयमा विज्ञहरूसँग छलफल गरेर अघि बढ्ने जानकारी पनि गराए ।
छलफलमा सहभागि सांसदहरुले सूचीकृत अभौतिक (अमूर्त) सांस्कृतिक सम्पदाको दुरुपयोग वा बेचबिखनको कार्य भएमा प्रचलित कानूनअनुसार दोषीलाई सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
अभिलेखिकरण तथा सूचीकृत भएका सम्मपदाहरुको संरक्षणका लागि सरकारले योजना तथा कार्यक्रम बनाई लागु गर्नुपर्ने बाध्यकारी व्यवस्था राख्नुपर्ने उनीहरूको माग छ ।


प्रतिक्रिया दिनुहोस्