काठमाडाैँ । सरकारले वन क्षेत्रसँग सम्बन्धित देखिएका विभिन्न समस्या समाधान हुने गरी वन नियमावली संशोधन गरेको वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले दाबी गरेका छन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री चौलागाईंले वर्तमान सरकारले वन नियमावलीको तेस्रो संशोधन गरेको र सो संशोधन हालसम्मकै सबैभन्दा प्रगतिशील रहेको बताएका हुन्। उनका अनुसार संशोधित नियमावलीले वन तथा निकुञ्ज क्षेत्रसँग जोडिएका विकास–निर्माणका काममा देखिँदै आएका समस्या समाधान गर्न सहयोग पुर्याउनेछ।
मन्त्री चौलागाईंले सरकारले गरेको संशोधन राजपत्रमा समेत प्रकाशित भइसकेको जानकारी दिँदै यसमा विगतमा प्राप्त सुझावहरूलाई समेटिएको उल्लेख गरे। वन स्रोतको सदुपयोग, संरक्षणमुखी नीतिहरूको प्रभावकारी कार्यान्वयन तथा काठजन्य स्रोतको उचित व्यवस्थापनमा संशोधित नियमावलीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
“यो सरकार आइसकेपछि वन नियमावलीको तेस्रो संशोधन गरिएको छ। त्यो संशोधन राजपत्रमा पनि आइसकेको छ। यसमा अहिलेसम्मकै प्रगतिशील सुधारहरू समेटिएका छन्,” मन्त्री चौलागाईंले भने, “भर्खरै संशोधन भएको हुनाले यसको व्यापक चर्चा हुन केही समय लाग्न सक्छ। तर विगतमा प्राप्त सुझावहरूलाई ध्यानमा राखेर यो ल्याइएको हो।”
त्यसैगरी मन्त्री चौलागाईंले वन्यजन्तुका कारण मानव बस्तीमा हुने क्षति नियन्त्रण गर्न पनि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्न पहल गरिरहेको जानकारी दिए। वन संरक्षण र मानव जीवनबीच सन्तुलन कायम गर्न सरकार गम्भीर रहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्