काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएका कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका प्रतिनिधिमण्डलसँग नेपाल–कतारबिच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन र आपसी सहकार्य विस्तारका विषयमा छलफल भएको छ।
सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता भएको थियो।
पर्यटन मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्य थप सुदृढ बनाउने विषयमा चर्चा भएको थियो।
विशेषगरी, सिधा हवाई उडान बढाउने, नयाँ गन्तव्य थप्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे केन्द्रित छलफल भएको थियो।
मन्त्री सिन्हाले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको जानकारी दिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले भने, “नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार गर्दै आएको छ। कतारी लगानीकर्ताका लागि सहजीकरणको वातावरण तयार पार्न हामी प्रतिबद्ध छौँ।”
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले पर्यटन, लगानी, उड्डयन, होटल र पूर्वाधार क्षेत्रमा नेपाल–कतारबीच विस्तारको ठूलो सम्भावना रहेको बताए।
कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदलीले उड्डयन र पर्यटन सहकार्यले दुई देशबिच व्यापार र जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पनि नीतिगत सहजीकरण, द्विपक्षीय लगानी प्रवद्र्धन, नेपालमा कतारी लगानीका सम्भावना, पर्यटन विकास तथा भावी आर्थिक सहकार्यका विषयमा विचार विमर्श भएको थियो।
परराष्ट्र मन्त्रालयका सचिव प्रेमबहादुर राईले ऊर्जा, पर्यटन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानीका पर्याप्त सम्भावना रहेको जानकारी दिए ।
कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले नेपाल–कतारबीच सम्बन्ध मित्रतापूर्ण रहेको र आर्थिक तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तारका लागि कतार इच्छुक रहेको बताए । उनले कतारी लगानीको सहजीकरणका लागि दूतावास तयार रहेको जानकारी पनि दिए ।
प्रतिनिधिमण्डलले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग पनि भेट गरेको थियो भने मंगलवार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम तय गरिएको छ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको प्रतिनिधिमण्डल संयुक्त व्यवसाय परिषद् सम्बन्धी छलफलका लागि काठमाडौँ आएको हो। जेबीसी नेपाल र कतारका निजी क्षेत्रबिच संवाद, व्यवसायिक सहकार्य र प्रत्यक्ष संलग्नता प्रवद्र्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको संस्था हो। जेबीसीको बैठक माघ २६ र २७ गते (फेब्रुअरी ९–१०) काठमाडौँमा बस्ने छ।


प्रतिक्रिया दिनुहोस्