काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
बिहीवार आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड ३३ लाख २३ हजार मतपत्र आवश्यक रहेकोमा हालसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छापिसकिएको छ। उनले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य समेत सकिएर जाँच (रुजु) गरी ढुवानीका लागि तयार अवस्थामा राखिएको जानकारी दिए ।
कोइरालाका अनुसार छापिएका मतपत्रमध्ये ५८ जिल्लाको प्याकिङ कार्य सकिएको छ र आजदेखि कर्णाली प्रदेशमा मतपत्र ढुवानी सुरू गरिएको छ। साथै सुदूरपश्चिम, कोसी लगायतका प्रदेशमा पनि चरणबद्ध रूपमा मतपत्र पठाउने योजना रहेको बताइयो। निर्वाचन आयोगले आगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने लक्ष्य राखेर काम गरिरहेको छ।
उनले भने, “आयोगले गत पुस २२ गतेदेखि नमूना मतपत्र छापेर ७७ वटै जिल्लामा मतदाता शिक्षाका लागि पठाइसकेको छ। पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापेर रुजु गरी तयारी अवस्थामा राखिएको छ। माघ १६ गतेदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ आवश्यक मतपत्र छाप्न सुरु गरी हालसम्म १ करोड ५७ लाख ७५ हजार छापिसकिएको छ। अहिले ५८ जिल्लामा मतपत्र छपाइ र प्याकिङ कार्य सम्पन्न भइसकेको छ।”
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले दैनिक १५ लाख मतपत्र छापिरहेको छ। बिहीवारसम्म कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लामा मतपत्र ढुवानी कार्य पनि सम्पन्न भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्