काठमाडौँ । आईओई पुल्चोक क्याम्पसमा आयोजित हल्ट प्राइज–२०२६ अन्तर्गत विभिन्न शृंखलाका कार्यक्रम सम्पन्न भएका छन्।
सामाजिक प्रभाव र उद्यमशीलतामा केन्द्रित हल्ट प्राइजलाई प्रायः “विद्यार्थीहरूको नोबेल पुरस्कार” पनि भनिन्छ। संयुक्त राष्ट्रसंघ र हल्ट इन्टरनेशनल बिजनेस स्कुलको साझेदारीमा सञ्चालन हुने यो विश्वकै ठूलो विद्यार्थी प्रतिस्पर्धा हो, जसले दिगो व्यवसायिक समाधानमार्फत विश्वव्यापी समस्याहरू सम्बोधन गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गर्छ।
पुल्चोक क्याम्पसको अन-क्याम्पस कार्यक्रम नेपालकै सफल संस्करणमध्ये एक मानिन्छ। यसले सन् २०२३ मा ‘सेन्ट्रल साउथ एसिया प्रोग्राम अफ द इयर’ अवार्ड समेत जितेको थियो। कार्यक्रमले इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई वास्तविक जीवनका चुनौती सामना गर्न, नेतृत्व विकास गर्न, टिमवर्क सुदृढ बनाउन तथा नैतिक उद्यमशीलता अपनाउन प्रेरित गर्दै आएको छ।
जनवरी ६ मा “डिजाइन थिङ्किङ एन्ड ह्युमन–सेन्टर्ड इनोभेसन” शीर्षकमा दोस्रो टक सिरिज एम्बार्क कलेजमा दिउँसो १:३० देखि ३:०० बजेसम्म आयोजना गरिएको थियो। कार्यक्रममा ‘सेयरिङ अपर्चुनिटीज’की प्रमुख कार्यकारी अधिकृत समय खड्काले सहजीकरण गरेकी थिइन्।
आठ वर्षभन्दा बढी अनुभव बोकेकी उनले विश्वका ४० भन्दा बढी सत्र सञ्चालन गरिसकेकी छन्। सत्रमा उनले सहानुभूति–आधारित डिजाइन सिद्धान्त प्रयोग गरी प्रभावकारी सामाजिक उद्यम कसरी विकास गर्न सकिन्छ भन्नेबारे सहभागीहरूलाई मार्गदर्शन गरिन्।
जनवरी २४ मा “फाइन्डिङ द पर्पोज: एसडीजीज एन्ड अपर्चुनिटी म्यापिङ” शीर्षकमा तेस्रो टक सिरिज एम्बार्क कलेजमै बिहान ११:०० देखि दिउँसो १:३० सम्म सम्पन्न भयो। केयर इन्टरनेशनल र अक्सफ्याममा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका सिनियर ग्लोबल सेफगार्डिङ एडभाइजर नवीन लामिछानेले समस्या–केन्द्रित सोच र तथ्यांकमा आधारित दृष्टिकोणबारे अन्तरक्रियात्मक सत्र सञ्चालन गरे।
सत्रमा सामाजिक उद्यमका लागि ‘थ्योरी अफ चेन्ज’ र रणनीति म्यापिङ, सामाजिक चुनौती समाधानमा मार्केटिङ दृष्टिकोण, प्रभाव समूह र परियोजनाको दायरा निर्धारण, दिगो विकास लक्ष्य (एसडीजी) अनुरूप उद्यमका लागि पिचिङ प्रविधि तथा प्रारम्भमा व्यावसायिक रूपमा सम्भाव्य नदेखिने समाधानका लागि उपयुक्त व्यवसाय मोडेल निर्माणजस्ता विषय समेटिएका थिए।
कार्यक्रम अन्त्यमा आयोजित अभ्यासमा विद्यार्थीहरूले चार्ट पेपरमा एसडीजीसँग मेल खाने समस्या विवरण तयार पार्दै सैद्धान्तिक ज्ञानलाई व्यवहारिक उद्यमशील अवधारणामा रूपान्तरण गर्ने प्रयास गरेका थिए।


प्रतिक्रिया दिनुहोस्