काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचनको महत्व औँल्याएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले मुलुकमा राजनीतिक उतार–चढावले पारेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै भावी पुस्ताका लागि शान्त र अनुशासित नेपाल निर्माण गर्न सबै पक्षको जिम्मेवारी रहने बताएका हुन् ।
कार्यक्रममा भण्डारीले नेपालको इतिहासमा एक शताब्दीमा चार ठूला क्रान्ति र आन्दोलन भएको स्मरण गर्दै अब मुलुकले थप संकट धान्न नसक्ने बताए । “हाम्रो यही शताब्दीमा हाम्रो मुलुकमा चारवटा क्रान्ति, विद्रोह, आन्दोलनहरू भए। एउटा मुलुकले यति धेरै एउटा शताब्दीमा क्रान्ति, विद्रोह, आन्दोलन र मुलुकै नष्ट हुने सम्मको क्रिया धान्न सक्दैन,” उनले भने।
भण्डारीले राजनीतिक दल र नेतृत्वलाई पनि यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए ।उनले सञ्चारकर्मीहरूको भूमिकालाई उच्च प्राथमिकतामा राख्दै समाचार संप्रेषणमा जिम्मेवार बन्न आग्रह गरे । सत्य र विश्लेषणमा आधारित समाचारले मात्र समाजलाई सही दिशा दिन सक्ने भएकाले ‘फ्याक्ट चेक’ (तथ्य जाँच)को महत्वबारे प्रकाश पार्दै उनले सबै सञ्चारकर्मीलाई प्रशिक्षण र क्षमता अभिवृद्धि कार्यक्रममार्फत सक्षम बनाउन आवश्यक रहेको बताए।
उनले आलोचना मात्र गर्ने प्रवृत्तिको सट्टा सकारात्मक कार्यको सम्मान गर्ने संस्कार विकास गर्न सबैमा आह्वान गरे ।


प्रतिक्रिया दिनुहोस्