काठमाडौँ । आगामी २०८२ प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले यस घोषणापत्रमा ‘संवर्धनवाद’लाई आफ्नो वैचारिक आधार मानेर राष्ट्र निर्माण र समृद्धिका नयाँ रोडम्याप प्रस्तुत गरेको छ।
पार्टीको घोषणापत्र अनुसार राप्रपा सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै राष्ट्र निर्माणमा विश्वास राख्छ। यसले बडामहाराजाधिराज पृथ्वीनारायण शाह लाई आदर्श पुरुष मान्दै उनको ‘पृथ्वीपथ’ मार्गदर्शन सिद्धान्त बनाएको छ।
शासकीय संरचनामा पार्टीले राजसंस्था र हिन्दू राष्ट्र को अवधारणा अघि सार्दै वर्तमान संघीय संरचनामा व्यापक सुधार गरी केन्द्र र बलियो स्थानीय तहको दुई तहको सरकार र गैर-दलीय निर्वाचन प्रणाली लागू गर्ने प्रस्ताव गरेको छ।
राप्रपाको दृष्टिकोण अनुसार नेपालको आर्थिक नीति र विकास मार्गलाई पुनरावलोकन गर्दै नयाँ चरणको आर्थिक सुधार ३.० को अवधारणामा मुलुकलाई अघि बढाउन आवश्यक छ। जलस्रोत र ऊर्जा क्षेत्रमा पार्टीले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा उत्पादन दशक’ घोषणा गरेको छ।
पर्यटन क्षेत्रमा धार्मिक तथा आरोग्य पर्यटन (योग, ध्यान, आयुर्वेद) प्रवर्धन गर्ने योजना छ। कृषि क्षेत्रमा रासायनिक मल कारखाना स्थापना, प्रत्यक्ष कृषक अनुदान र कृषिजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखिएको छ। सूचना प्रविधि र सुशासन क्षेत्रमा सरकारी सेवालाई पेपरलेस बनाउने, एउटै डिजिटल एपबाट सेवा दिने र ‘अर्न ह्वाइल यू लर्न’ मोडलमार्फत युवालाई सीप सिकाउने योजना सार्वजनिक गरिएको छ।
प्रवासी नेपालीको सीप र पूँजी उपयोग गर्न वंशजलाई नागरिकताको निरन्तरता दिने नीति अघि सारिएको छ। निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य संवाहक बनाउने र ट्रेड युनियनहरूको राजनीतिक आबद्धता खारेज गर्ने योजना पार्टीकाे रहेको छ।
सुशासन र भ्रष्टाचार नियन्त्रणमा राप्रपाले २०४६ पछि उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता नीति लागू गर्ने प्रतिवद्धता जनाएको छ।
शिक्षा, स्वास्थ्य र पूर्वाधारमा पार्टीले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्ने र प्राविधिक शिक्षामा जोड दिने योजना प्रस्तुत गरेको छ।
स्वास्थ्य क्षेत्रमा आधारभूत निःशुल्क सेवा, स्वास्थ्य बिमाको दायरा वृद्धि र कडा रोगको उपचारलाई प्रभावकारी बनाउने योजना छ। पूर्वाधारमा काठमाडौँ उपत्यकामा मेट्रो वा पोडवे सञ्चालन गर्ने र महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखिएको छ।
परराष्ट्र र राष्ट्रिय सुरक्षामा पार्टीले नेपाल प्रथम नीति अपनाउने, असमान सन्धि खारेज गर्ने र कुनै पनि वैदेशिक हस्तक्षेप स्वीकार नगर्ने प्रतिबद्धता जनाएको छ। नेपाली सेनालाई राजनीतिक हस्तक्षेपमुक्त राख्ने योजना पनि घोषणा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्