काठमाडौँका विभिन्न कारागारबाट फरार सात जना कैदीबन्दी पक्राउ


काठमाडौँ । काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका प्रहरी कार्यालयहरूले खोजतलासको क्रममा भाद्र २४ गते फरार भएका यी कैदीबन्दीहरूलाई आइतबार गते पक्राउ गरी सम्बन्धित कारागारमा पुनः दाखिला गरेका छन्।

पक्राउ परेका व्यक्तिहरूमा जिल्ला रसुवा, उत्तरगया गाउँपालिका १ घर भइ काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ बन्चरेटार चोक बस्ने ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ (डाँका चोरी मुद्दा), जिल्ला लमजुङ, दूधपोखरी गाउँपालिका ४ घर भइ काठमाडौँ, कलंकी बस्ने २० वर्षीय पृतम गुरुङ (चोरी मुद्दा), जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका घर भइ काठमाडौँ, सुन्धारा बस्ने २३ वर्षीया बविता तामाङ (मानव बेचबिखन तथा ओसारपसार मुद्दा) समावेश छन्।

साथै, जिल्ला काभ्रेपलान्चोक, ठाँटि चापखोरी घर भएका २२ वर्षीय विक्रम नेपाली (नकबजनी चोरी मुद्दा), जिल्ला दोलखा, मेलुङ गाउँपालिका २ घर भएका भुवन तामाङ (लागु औषध मुद्दा), जिल्ला सिन्धुली, फिक्कल गाउँपालिका ३ घरका अनिस मगर (ज्यान मार्ने उद्योग मुद्दा) र भारत मूलका रोसन साह (लागु औषध मुद्दा) पनि पक्राउ परेका छन्।