काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आ.व. २०८२/८३ को दोस्रो त्रैमासमा ‘क’ वर्गका बैङ्कहरूमा अनियमितता पत्ता लगाउँदै कारवाही गरेको छ।
बैंक सुपरिवेक्षण विभागका अनुसार निरीक्षणको क्रममा बैङ्कहरूले जारी निर्देशनको पालना नगरेका र वित्तीय अनुशासनमा कमजोरी देखाएका छन्।
एन आई सी एसिया बैङ्क लिमिटेडले बारम्बार बैङ्कबाट जारी निर्देशन उल्लङ्घन गरेको र वित्तीय विवरण प्रकाशनमा समेत आवश्यक पालना नगरेको पाइएको छ।
यसका कारण बैङ्कका तत्कालीन सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २(ग) अनुसार प्रत्येकलाई दुई लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडको स्थलगत निरीक्षणमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, कर्जाको पुनरतालिका र पुनरसंरचना सम्बन्धी निर्देश पालना नगरेको पाइएको छ। बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० उपदफा २(क) अनुसार सचेत गरिएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सफ्टवयेर प्रणालीमा चुक्ता भइसकेको कर्जालाई पुरानो भ्यालु डेट राखेर पुनः सिर्जना गर्न सकिने अवस्था रहेको देखिएको छ।
साथै कर्जासम्बन्धी कागजातमा ग्राहकको सहिछाप नलिई, कर्जा सुरक्षण नहुने किसिमले प्रवाह गरिएको, एउटै प्रकारका कर्जाको ब्याजदर अन्तर दुई प्रतिशतभन्दा बढी कायम गरिएको र नयाँ अल्पकालिन कर्जा त्रैमासको अन्तिम महिनामा प्रवाह गरिएको पाइएको छ।
यसका कारण बैङ्कका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १०० उपदफा २(क) अनुसार सचेत गरिएको छ । राष्ट्र बैङ्कले यस प्रकारको कारवाहीमार्फत बैङ्कहरूमा वित्तीय अनुशासन कायम गर्न जोड दिएको छ।


प्रतिक्रिया दिनुहोस्