‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य रहेको बताएका छन् । 

मंगलबार दलको घोषणापत्र सार्वजनिक गर्दै उनले वर्तमान राजनीतिक दलहरू केवल सत्ता र भागबण्डामा लिप्त भएको आरोप लगाउँदै इमान्दार र ‘घुस नखाने’हरूको नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गरे ।

अध्यक्ष जोशीले विश्वव्यापी रूपमा घोषणापत्र जारी गर्ने प्रचलन भए पनि नेपालमा सत्तामा पुगेका दलहरूले आफ्ना प्रतिवद्धता र व्यवहारबिच कुनै तालमेल नराखेको टिप्पणी गरे ।

दीर्घकालीन लक्ष्यहरू पाँच वर्षमा पूरा नभए पनि सत्तामा पुगेको दिनदेखि नै सही दिशामा अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको उनले औंल्याए ।

नेपाली राजनीतिमा मौलाएको ‘भागबण्डा’को संस्कृतिले देशलाई बर्बादीतर्फ लगेको जोशीको ठहर छ । न्यायाधीश, मन्त्रीदेखि संवैधानिक निकायसम्म दलीय भागबण्डा हुनुले समाजको मनोविज्ञानलाई नै भ्रष्ट बनाएको उनले बताए ।

अध्यक्ष जोशीले नेता घनश्याम भुसालको नेतृत्वमा रहेको समूहसँग सहकार्य गर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउने उद्घोष गरे ।

उनले पार्टीले अब ‘घुस नखानेहरूको पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ श्रमजीवी जनता र बुद्धिजीवीहरूको प्रतिनिधित्व गर्ने बताए । कम्युनिष्ट आन्दोलनलाई दलदलबाट निकालेर इमान्दारिता र जनताप्रतिको विश्वासको जगमा पुनर्गठन गर्ने उनको मुख्य कार्यसूचि रहेको छ । 

अध्यक्ष जोशीले वर्तमान निर्वाचनलाई आफूले जनतालाई शिक्षित गर्ने अवसरका रूपमा लिएको बताए । राष्ट्रियताको रक्षा, आर्थिक समृद्धि र समाजवाद निर्माणका लागि इमान्दारिता र समर्पण नै पार्टीको आगामी दिशा हुने प्रतिवद्धता व्यक्त गर्दै उनले कम्युनिष्ट आन्दोलनको शुद्धीकरणका लागि घनश्याम भुसालको नेतृत्वलाई समर्थन गर्ने स्पष्ट पारे ।