निर्वाचन आयोगद्वारा कलाकार र इन्फ्लुएन्सरलाई मतदाता शिक्षा र सद्भावना दूतमा सक्रिय हुन आह्वान


काठमाडाैँ । निर्वाचन आयोगले कलाकार, युट्युबर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरूको भुमिका निर्णायक हुने बताएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी आयोगले गरेको अन्तरक्रिया कार्यक्रममा सचिव कृष्णबहादुर राउतले लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएकाले यसको आत्मा सचेत मतदातामा निहित रहेको बताए ।

सचिव राउतले विगतका निर्वाचनमा कलाकारहरूले पु¥याएको योगदानको कदर गर्दै यसपटक पनि मतदाता शिक्षामा रचनात्मक सहयोग गर्न आग्रह गरे ।

उनले डिजिटल युगमा सामाजिक सञ्जालको प्रभाव बढेको र करिब ९० प्रतिशत नेपालीसँग इन्टरनेट पहुँच रहेको भन्दै नयाँ मिडियामा फैलिने गलत सूचना र अफवाहले लोकतन्त्र कमजोर पार्न सक्ने खतरा भएकाले इन्फ्लुएन्सरहरूले सक्रिय भएर सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगले कलाकारहरूलाई कुनै दल वा उम्मेदवारको पक्ष नलिई ‘सद्भावना दूत’ का रूपमा राजनीतिक तटस्थता कायम राख्दै आम नागरिकलाई मतदानका लागि प्रेरित गर्न विशेष जोड दिएको छ।

राउतले भने, “लोकतन्त्रको मेरुदण्ड निर्वाचन हो र यसको आत्मा भनेको सचेत, सुसूचित र जिम्मेवार मतदाताहरू हुन्। स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी निर्वाचन सम्पन्न गर्नु आयोगको संवैधानिक दायित्व हो। यो अभिभारा पूरा गर्न आयोगलाई तपाईंहरूको महत्वपूर्ण साथ र सहयोगको महशुस भएको छ।”

उनले कलाकार, सर्जक, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूलाई मतदानका लागि प्रेरित गर्ने, मताधिकारको महत्व बुझाउने र निर्वाचनलाई उल्लासमय रूपमा सम्पन्न गराउन सहयोग गर्ने भूमिका निर्वाह गर्न अनुरोध गरे।

राउतका अनुसार कलाकारहरूको गीत, नाटक, भिडियो तथा सामाजिक सञ्जाल सामग्रीहरूले मतदाता शिक्षामा उल्लेखनीय योगदान पुर्‍याउनेछन् र बदर मतको प्रतिशत न्यून गर्न सहयोग पुग्नेछ।

आयोगले यसअघि पनि कलाकारहरूले मतदानमा सहभागिता बढाउन र निर्वाचन सम्बन्धी सही सूचना प्रवाह गर्न पुर्‍याएको योगदान उच्च मूल्याङ्कन गरेको जनाएको छ। सचिव राउतले मतदानलाई भय वा निराशाको सट्टा उत्सव र गौरवको रूपमा मनाउन सबैमा आह्वान गरे ।