काठमाडाैँ । स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कूलले फुटबल विकास र खेलकुद शिक्षामा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ पार्ने उद्देश्यका साथ सिङ्गापुरस्थित फ्रेन्ज इन्टरनेशनल एकेडेमीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
सम्झौतामा स्वस्तिश्री गुरुकुलकी प्रवन्ध निर्देशक मिना महर्जन र एकेडेमीका मालिक डल्भीन एस. पन्नुबिच ले हस्ताक्षर गरेका हुन्।
सम्झौतामा विद्यालयका संस्थापक अध्यक्ष रामकृष्ण चित्रकार, प्राचार्य नेहा के.सी., फुटबल कोच पुष्प ज्वाला बिष्ट, साथै एकेडेमीका प्रशिक्षक र भूतपूर्व सिङ्गापुर खेलाडी जिता सिङ्को समेत उपस्थित थिए।
यस साझेदारी मार्फत विद्यालयले गुणस्तरीय प्रशिक्षण र विश्वस्तरीय अनुभवमार्फत विद्यार्थीहरूलाई उचित मार्गनिर्देशन दिने लक्ष्य राखेको छ।
विद्यार्थीहरूले अब अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट प्रशिक्षण लिने, आधुनिक खेल प्रविधि सिक्ने र व्यावसायिक विकासका अवसर प्राप्त गर्नेछन्। यसले विद्यार्थीमा अनुशासन, टोलीभावना, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गरी शैक्षिक र शारीरिक विकासमा सन्तुलन कायम गर्ने विश्वास विद्यालयले लिएको छ।
स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय विशेषज्ञतासँग जोड्दै नेपालको फुटबल संस्कृतिको विकासमा योगदान पुर्याउनु यस सम्झौताको मुख्य उद्देश्य हो।
विद्यालयले यस साझेदारीले युवा खेलाडीहरूलाई विश्व खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थितिलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्