मधेशबाट सुशासनको अभियान सुरु गर्ने गगन थापाको घोषणा


जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशमा सुशासन स्थापित गरी कुसासन अन्त्य गर्ने प्रतिज्ञा गरेका छन्।

जनकपुरस्थित तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस सबैलाई समेटेर देशको नेतृत्व गर्न सक्षम रहेको दाबी गरे। आफूहरू पदका लागि नभई कामका लागि मैदानमा उत्रिएको उल्लेख गर्दै उनले मधेशबाटै देश परिवर्तन गर्ने साहस र अठोट लिएको बताए।

सभापति थापाले संघीयता कार्यान्वयनमा मधेशको भूमिका निर्णायक हुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा मधेशले नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए। मधेशलाई ज्ञानको केन्द्र बनाउने लक्ष्यसहित कांग्रेस मधेश आएको उनले स्पष्ट पारे।

उनले विगतमा मधेशका शिक्षकहरूको योगदानले पहाडी क्षेत्रमा समेत गुणस्तरीय शिक्षा विस्तार भएको स्मरण गराउँदै अहिले मधेशको शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रको अवस्था कमजोर बनेको बताए। किसान, विशेषगरी उखु किसानको समस्या, पर्यावरणीय चुनौती र खानेपानी अभाव समाधान गर्न आफू मधेश आएको उनको भनाइ थियो।

मधेशले सिंगो देशलाई पाल्न सक्ने सामर्थ्य बोकेको उल्लेख गर्दै उनले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाए। विदेशमा रहेका नेपालीहरूको हेरचाहका लागि आवश्यक परे दूतावास तथा जनशक्ति व्यवस्थापन गरिने उनले बताए।
थापाले मधेशको वित्तीय संरचना अस्तव्यस्त बनेको भन्दै सहकारी क्षेत्रमा देखिएको अनियमितता र ठगी नियन्त्रण गर्न कांग्रेस दृढतापूर्वक अघि बढ्ने बताए। सहकारी ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याइने उनको भनाइ थियो।

यसैगरी, मधेशका युवाहरूको क्रिकेटप्रतिको आकर्षणलाई सम्बोधन गर्दै यहाँ क्रिकेट एकेडेमी स्थापना गर्ने योजना अघि सारिएको उनले जानकारी दिए। युवाहरूको सपना पूरा गर्न र साझा राजनीतिक मञ्च निर्माण गर्न आफू मधेश आएको उनको भनाइ थियो।

आफू मधेशको ‘बेटा’ बन्न आएको उल्लेख गर्दै उनले मधेशका ऐतिहासिक व्यक्तित्वहरूको साहस र त्यागबाट प्रेरणा लिएको बताए। कांग्रेस अब परिमार्जित र आत्मसमीक्षा गरेर जनविश्वास लिन मैदानमा आएको उनले स्पष्ट पारे। उनले मत मात्र नभई विश्वास र भरोसा जितेर देशलाई सँगसँगै अघि बढाउने तथा देखिने परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरे।