काठमाडाैँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा देशभरि सुरक्षित, आधुनिक र सुलभ यातायात प्रणालीको विकासमा जोड दिइएको छ।
पार्टीले सबै गाउँपालिकालाई सबै मौसममा चल्ने कम्तिमा एक सडकले जोड्ने, जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गमा समेट्ने योजना प्रस्तुत गरेको छ।
घोषणापत्रअनुसार अब बन्ने सडकहरू कम्तिमा डबल लेनका हुनेछन् भने विगतमा बनेका सिंगल लेन सडकहरूलाई स्तरोन्नति गरिनेछ। पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा, मध्यपहाडी (पुष्पलाल) राजमार्गलाई डेडिकेटेड डबल लेनको स्तरमा स्तरोन्नति गर्ने कार्य अघि बढाइने जनाइएकाे छ ।
साथै मदन भण्डारी र हुलाकी राजमार्गलाई रणनीतिक राजमार्गको रूपमा विकास गरिनेछ भने कोशी, गण्डकी र कर्णाली करिडोरलाई आर्थिक मेरुदण्डका रूपमा अघि बढाइनेछ।
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग र विद्युतीय रेलमार्ग निर्माणलाई तीव्रता दिइनेछ। नेपाल–भारत अन्तरदेशीय रेलमार्ग आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मित्रराष्ट्र भारत र चीनसँग जलमार्ग र सामुद्रिक बन्दरगाहमार्फत अन्तर्राष्ट्रिय व्यापार पहुँच विकास गर्ने योजना पनि घोषणापत्रमा समावेश छ।
पार्टीले सडक, रेल, जलमार्ग र विमानस्थललाई एकीकृत गरी ‘मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’ निर्माण गर्ने र सुरक्षित, छिटो तथा आरामदायी यातायात सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ। सडक सुरक्षाका लागि पेट्रोलिङ, सुरक्षा पोष्ट, ट्रमा सेन्टर सुविधा र सीसी क्यामराको व्यवस्था गरिनेछ।
सहरी क्षेत्रमा सार्वजनिक यातायातको पहुँच सुनिश्चित गर्न मेट्रोरेल, मोनोरेल, फास्ट ट्रयाक, विद्युतीय बस सेवा र सूचना प्रविधिमा आधारित विद्युतीय भाडा प्रणाली विकास गरिनेछ।
प्रमुख आन्तरिक विमानस्थलहरू दैनिक १८ घन्टा सञ्चालन गरिने र अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिक सुविधासहित विकास गरिने योजना पनि घोषणापत्रमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्