काठमाडौँ । युवराज खतिवडाले नेकपा (एमाले) को यसपटकको चुनावी घोषणापत्र विगतभन्दा फरक, यथार्थपरक र कार्यान्वयनयोग्य रहेको दाबी गरेका छन्।
एमाले नेता तथा पूर्वअर्थमन्त्री खतिवडाले ठूला वाचा गर्ने तर पूरा नहुने प्रवृत्ति अन्त्य गर्न घोषणापत्र तयार पार्दा लागत र स्रोतको स्पष्ट आँकलन गरिएको बताए ।
उनका अनुसार यसपटकको दस्तावेजमा ‘देश पहिला, राष्ट्र पहिलो’ भन्ने मूल मन्त्रलाई केन्द्रमा राखिएको छ। लोकतन्त्रकालीन उपलब्धि र कमी–कमजोरीलाई वस्तुनिष्ठ रूपमा समेट्दै व्यावहारिक कार्यक्रम अघि सारिएको उनको भनाइ छ।
घोषित ११ बुँदे कार्यक्रम कार्यान्वयनका लागि राज्यलाई करिब २ प्रतिशत राजश्व दायित्व मात्र पर्ने खतिवडाको दाबी छ। यसले देशको ऋणभार नबढाउने बरु स्रोतको न्यायिक पुनर्वितरणमार्फत आर्थिक सन्तुलन कायम गर्न सहयोग पुग्ने उनले स्पष्ट पारे ।
सरकार आफैं उद्योग सञ्चालनमा नलाग्ने तर रणनीतिक क्षेत्रमै सीमित रहने नीति लिइने उहाँले उल्लेख गरे ।
निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदै रोजगारी सिर्जना गर्ने वातावरण तयार गरिने र लगानीमैत्री नीति अवलम्बन गरिने उनको भनाइ छ। राजश्व परिचालनमा कुनै कसर बाँकी नराखिने बताउँदै खतिवडाले करको दायरा विस्तार, सूचना प्रविधिको प्रयोगमार्फत चुहावट नियन्त्रण र पारदर्शी व्यवस्थापनबाट आवश्यक स्रोत जुटाइने दाबी गरे ।
विदेश नीतिबारे धारणा राख्दै उहाँले नेपालको भूमि कुनै छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे । साथै, अरूले पनि नेपालको आन्तरिक मामिलामा अस्थिरता निम्त्याउने गतिविधि नगर्नुपर्ने एमालेको चाहना रहेको बताए । प्रविधि र लगानी आवश्यक रहेकाले सबै देशसँग मित्रवत सम्बन्ध राख्ने तर राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै षड्यन्त्रको शिकार नबन्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्