काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको महलमा दोजर चल्ने बताएका छन् ।
कर्णालीमा बिहीवार आयोजित वाचापत्र सार्वजानिक कार्यक्रमा उनले रास्वपा सरकार आएमा गरिब बस्तीको उठीवास लगाउने र डोजर चलाउने भन्दै जनतालाई तर्साउने प्रयास भइरहेको आरोप लगाएका हुन् । उनले डोजर चलेमा सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्ने भन्दै गरिबको बस्तीले चिन्ता गर्न नपर्ने बताए ।
सभापति लामिछानेले रास्वपाले कसैलाई बेघरबार बनाउने काम नगर्ने दाबी गरे । विस्थापित नगरी व्यवस्थापन गर्ने नीति लिने उनको भनाइ छ । भूमिहीन समस्याको समाधान गर्न शक्तिशाली र स्वतन्त्र आयोग गठन गर्ने उनले बताए। उनकाअनुसार आयोगमा पार्टीका कारिन्दा नभई स्वतन्त्र मानिसहरू हुनेछन् ।
आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने उनले बताए । कानूनले अन्याय गरेको महशुस भएमा संसदबाट संशोधन गरेर भएपनि अधिकार दिलाउने उनले प्रतिवद्धता जनाए । उनले रास्वपा प्रश्नहरूको सामना गर्न डराएको आरोपको खण्डन गर्दै जनताका प्रश्नको जवाफ घरदैलोमै दिएको जिकिर गरे ।
उनले प्रश्न सोध्ने ठेक्का पनि जनताले नै लिने भएकोले कसैले लिनु नपर्ने बताए । उनकाअनुसार जनताले घरघरमा प्रश्न सोधेका छन्, रास्वपाका उम्मेद्वारले उत्तर दिएका छन् । उनले अब केवल जवाफ दिने नभई समाधान दिने समय आएको बताए । पाँच वर्षे स्थायी सरकारमार्फत विधिको शासन, कानूनी राज्य र सुशासन स्थापना गर्ने प्रतिवद्धता उनले जनाए । रास्वपा विधि र लोकतान्त्रिक मूल्य–मान्यतामा अडिग रहने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्