काठमाडौँ । केपी शर्मा ओलीले देश र जनताको पक्षमा काम गर्दा आफू चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्षसमेत रहेका ओलीले आफ्नो ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गरेका हुन् । देशको विकास, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिएकै कारण आफूविरुद्ध विभिन्न आरोप र आक्रमण भइरहेको उनको जिकिर थियो ।
झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग समेटिएको नयाँ नक्सा जारी गरिएको, उत्तरतर्फका नाका सञ्चालनमा ल्याइएको तथा दक्षिणतर्फ हुलाकी राजमार्ग निर्माणमार्फत मधेस क्षेत्रको आर्थिक विकासलाई गति दिइएको उल्लेख गरे । दुर्गम उत्तरी क्षेत्रका जनतालाई सहजता पुर्याउने र मधेसका गाउँलाई आधुनिकतातर्फ अघि बढाउने काम एमाले नेतृत्वमा भएको उनले स्मरण गराए ।
ओलीले नयाँ राजनीतिक शक्तिहरूप्रति सङ्केत गर्दै देशलाई प्रयोगशाला वा मजाक गर्ने थलोका रूपमा लिन नहुने धारणा राखे । एउटा स्थानीय तह सञ्चालनमै असफल भएकालाई देश सञ्चालनको जिम्मेवारी दिन नहुने उनको भनाइ थियो । सफल र सक्षम शक्तिलाई छाडेर अपरिचित वा असफल भइसकेकालाई नेतृत्व सुम्पन खोजिएको प्रवृत्तिप्रति उनले असन्तुष्टि जनाए ।
देशको रक्षा, लोकतन्त्रको सुदृढीकरण, सुशासन, शान्ति सुव्यवस्था र भ्रष्टाचार नियन्त्रणका लागि एमालेले अघि बढाएको अभियानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिनुभयो । विकासको गतिलाई तीव्रता दिन र अर्थतन्त्रलाई सुदृढ बनाउन एमाले सक्षम रहेको दाबी पनि उनले गरे ।
ओलीले एमाले कुनै दबाबमा झुक्ने वा स्वार्थका लागि सम्झौता गर्ने पार्टी नभएको उल्लेख गर्दै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा एक–एक इन्च भूमिसम्म गरिने प्रतिबद्धता व्यक्त गरे। राणा शासनविरुद्धको संघर्षदेखि वर्तमानसम्म देशलाई यहाँसम्म ल्याउन योगदान गरेको पार्टी कसैसँग डराएर पछाडि नहट्ने उनको भनाइ थियो ।
हजारौं वर्षको इतिहास बोकेका नेपाली संस्कृति र संस्कारको संरक्षण गर्दै समाजमा रहेका विकृति, विसंगति र पुरातन बेथितिहरूलाई क्रमशः हटाउँदै लैजानुपर्ने धारणा पनि उनले व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्