भोट हस्तान्तरणअघि हजारचोटि सोच्न लिङदेनको आग्रह, राष्ट्रिय समझदारी बिना देश दुर्घटनातर्फ जाने चेतावनी


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन ले मतदातालाई आफ्नो भोटको शक्ति बुझेर मतदान गर्न आग्रह गरेका छन् ।

बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भोट भनेको जनताको हातमा रहेको महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै यसलाई हस्तान्तरण गर्दा गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएका हुन्। विगतमा मतदाताहरू झुटा आश्वासन, पेट्रोल, नगद, माछामासु र मदिराजस्ता प्रलोभनमा परेर मतदान गर्ने प्रवृत्ति देखिएको भन्दै उनले यसबाट मुक्त हुनुपर्ने धारणा राखे ।

सत्तारूढ नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती सच्याउन नसके देश दुर्घटनातर्फ जाने चेतावनी दिँदै उहाँले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको औंल्याए । लामो समयदेखि चलिरहेको निषेधको राजनीति अन्त्य गरी ‘देश जित्ने’ वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष लिङदेनले चुनाव अघि नै राष्ट्रिय सहमति कायम गरेर मात्रै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै आवश्यक परे चुनाव केही महिना पछि सारेर भए पनि समझदारीको आधार तयार गर्नुपर्ने बताउनुभयो । जबर्जस्ती चुनावतर्फ देशलाई धकेलिएको उनको आरोप थियो ।

उनले राप्रपालाई संसदमा बलियो शक्तिका रूपमा स्थापित गर्न मतदातासँग सहयोग माग्दै पार्टीसँग देश विकासको स्पष्ट योजना रहेको दाबी गरे ।

भ्रष्टाचारमुक्त ढंगले काम गर्न पाए पाँच–छ वर्षमै देशको मुहार फेर्न सकिने उनको विश्वास थियो । आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी भ्रष्टाचार प्रकरणको छानबिनमा आफूले भूमिका खेलेको पनि स्मरण गराए ।

अध्यक्ष लिङदेनले काँग्रेस, एमाले र माओवादी समर्थकहरूलाई समेत एकपटक राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गर्नुभयो । प्रत्यक्ष र समानुपातिक दुवै तर्फ राप्रपालाई मत दिई देश बचाउने अभियानमा सहभागी हुन उहाँले सबै मतदातालाई अपिल गर्नुभयो ।