सवारी कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत बनाउन राष्ट्र बैङ्क र अर्थ मन्त्रालय समक्ष नाइमाकाे आग्रह


काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा) ले सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात (एल.टी.भी. रेसियो) हालको ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय समक्ष औपचारिक अनुरोध गरेको छ।

नाइमाका अनुसार हालको ६० प्रतिशतको सीमा अटोमोबाइल बजारमा देखिएको सुस्तताको प्रमुख कारण हो। उच्च प्रारम्भिक भुक्तानीको आवश्यकता हुँदा धेरै उपभोक्ताले सवारी साधन खरीद गर्न सकिरहेका छैनन्, जसले बिक्रीमा गिरावट ल्याएको छ। यसले समग्र आर्थिक गतिविधि र राजस्व सङ्कलनमा समेत प्रत्यक्ष असर गरेको छ। अटोमोबाइल क्षेत्र भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करमार्फत सरकारले राजस्व उठाउने महत्वपूर्ण क्षेत्र मानिन्छ।

नाइमाका अनुसार सवारी साधन बिक्रीमा वृद्धि हुँदा सरकारको राजस्व संकलनमा सकारात्मक प्रभाव पर्छ। साथै, बैंकिङ प्रणालीमा विद्यमान उच्च तरलतालाई ध्यानमा राख्दा हायर–पर्चेज कर्जामा ऋण–मूल्य अनुपात वृद्धि गर्नु पूँजी परिचालनको व्यावहारिक र सुरक्षित उपाय हुन सक्ने नाइमाको दृष्टिकोण छ।

सवारी साधन बिक्रीले सर्भिस केन्द्र, स्पेयर पार्ट्स, बीमा, वित्तीय सेवा, ढुवानी र प्राविधिक सेवा लगायत सहायक उद्योगहरूलाई सक्रिय बनाउँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने भएकाले यस क्षेत्रमा नीति सहजीकरण आवश्यक रहेको नाइमाले जनाएको छ।

नाइमाले ‘मोबिलिटी फर अल’ को आफ्नो मिशन अनुरूप यस महत्वपूर्ण विषयमा निरन्तर पैरवी गर्दै आएको र आगामी दिनमा पनि नीति सुधार तथा समन्वयका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।