गौरमा कर्फ्युको असर : अदालत सेवा ठप्प, आजका सबै कामकारबाही स्थगित


रौतहटको गौरमा जारी अनिश्चितकालीन कर्फ्युको असर न्यायिक सेवामा पनि परेको छ। सुरक्षा अवस्था अस्थिर बनेपछि आइतबारका लागि तय भएका सम्पूर्ण कामकारबाही स्थगित गरिएको भन्दै रौतहट जिल्ला अदालतले सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्म सर्वसाधारणको आवतजावत, भेला, सभा, जुलुस र प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाउँदै कर्फ्यु जारी गरेपछि अदालतको नियमित सेवा अवरुद्ध भएको हो।

अदालतका अनुसार आजका लागि तय भएका सुनुवाइ, सेवा तथा अन्य कार्य सबै रोकिने छन् भने यस दिनका तारिख र म्यादसमेत प्रभावित नहुने व्यवस्था गरिएको छ।

फागुन ७ गतेदेखि भड्किएको हिंसापछि रौतहटको सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ, जसको प्रत्यक्ष असर प्रशासनिक र न्यायिक दुवै सेवामा देखिन थालेको छ।