निर्वाचन तोकिएकै समयमा हुन्छ : प्रमुख निर्वाचन आयुक्त


निर्वाचन आयोगले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुने स्पष्ट गर्दै उम्मेदवार र दलहरूलाई ढुक्क भएर तयारी तथा प्रचारप्रसारमा लाग्न आग्रह गरेको छ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही तत्वहरूले निर्वाचन बिथोल्ने उद्देश्यले भ्रम र हल्ला फैलाउन खोजे पनि त्यस्ता प्रयास सफल नहुने बताए। निर्वाचनको विकल्प निर्वाचन नै भएकाले वातावरण बिथोलिने अवस्था अब नबन्ने उनको भनाइ थियो।

उनले अझै पनि केही उम्मेदवारहरूले निर्वाचनबारे संशय व्यक्त गर्दै फोन गर्ने गरेको उल्लेख गर्दै कुनै भ्रममा नपरी आचारसंहिता पालना गर्दै प्रचारप्रसारमा सक्रिय हुन सुझाव दिए।

साथै, मत सर्वेक्षणजस्ता आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चार माध्यमहरूलाई पुनः सचेत गराउँदै उल्लंघन भए कारबाही गर्न आयोग बाध्य हुने चेतावनीसमेत दिएका छन्।