काठमाडौँ । नेपाली काँग्रेसले आसन्न निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले निर्वाचन जनताको नैसर्गिक अधिकारसँग जोडिएको विषय भएकाले त्यसको स्वतन्त्र अभ्यासमा कुनै अवरोध हुन नहुने स्पष्ट पारे।
उनले जनताको मताधिकारमाथि दायाँबायाँ गर्ने छुट सरकारलाई नभएको उल्लेख गर्दै निष्पक्ष वातावरण निर्माण गर्न सरकार जिम्मेवार र सचेत हुनुपर्ने बताए।
प्रवक्ता चालिसेका अनुसार शासनको वैधताको प्रमुख स्रोत नै जनताको मताधिकार भएकाले निर्वाचन प्रक्रियामा पारदर्शिता र विश्वसनीयता कायम गर्न राज्य पक्ष गम्भीर हुन आवश्यक छ।
“निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण हुनुपर्छ। जनताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने अधिकार सुरक्षित गरिनुपर्छ,” उनले भने, “निर्वाचन गराउने जिम्मा लिएको सरकारले निष्पक्ष वातावरण सुनिश्चित गर्नुपर्छ। हामीले हालसम्म कुनै शंका गरेका छैनौँ, तर निष्पक्षताको वातावरण निर्माण गर्ने दायित्व सरकारकै हो।”
उक्त पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेको दाबी पनि गरे।


प्रतिक्रिया दिनुहोस्