काठमाडाैँ । झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार वालेन्द्र शाहले आफ्नो निर्वाचन क्षेत्रका लागि प्रतिबद्धतासहित वाचापत्र सार्वजनिक गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका उनले संविधान–२०७२ को मर्मअनुसार संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्दै आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनमा पहल गर्ने उल्लेख गरेका छन्।
वाचा पत्रमा उनले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा अग्रपंक्तिमा उभिने, झापा–५ का विकासका मुद्दा राष्ट्रिय नीति तथा बजेटमा सशक्त रूपमा उठाउने तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाएर योजनाको प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय जनताको आवाज निरन्तर संसदमा प्रस्तुत गर्ने तथा सार्वजनिक सेवालाई चुस्त र नागरिकमैत्री बनाउने उनको भनाइ छ।
शिक्षा क्षेत्रमा गरिब तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने तथा विद्यालय छाड्ने दर शून्यमा झार्ने लक्ष्य अघि सारिएको छ। गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन–अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गर्ने योजना पनि वाचा पत्रमा उल्लेख छ। दमक बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने र दमक–१० स्थित साइन्स पार्कलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
स्वास्थ्यतर्फ दमक अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्ने, विपन्न तथा असहाय बिरामीका लागि १० प्रतिशत शैया निःशुल्क छुट्याउने व्यवस्था कार्यान्वयन गर्ने तथा ग्रामीण र सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने उल्लेख गरिएको छ। ‘घर–घर स्वास्थ्य सेवा’ कार्यक्रममार्फत ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ।
पूर्वाधार विकासअन्तर्गत दमक–रवि–चिसापानी सडक सम्पन्न गर्ने, रतुवा र मावा खोलामा तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गर्ने, ग्रामीण सडक र पुल स्तरोन्नति गर्ने तथा दमकलाई पूर्वी नेपालको आईटी हबका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। आदिवासी जनजाति रंगशाला निर्माण, विराट बुद्ध पार्क र सभागृहजस्ता योजनालाई नागरिक उपयोगितामुखी बनाउने प्रतिबद्धता पनि जनाइएको छ।
कृषि तथा रोजगारीतर्फ कन्काई–रतुवा सिँचाइ योजना विस्तार, प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागू, गौरादह कृषि भण्डारण केन्द्र स्थापना तथा उत्पादनमा आधारित अनुदान र समर्थन मूल्य ग्यारेन्टी प्रणाली लागू गर्ने योजना सार्वजनिक गरिएको छ। युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न बिमा, सिँचाइ र प्रविधिमा आधारित उत्पादन प्रणाली सुदृढ गरिने जनाइएको छ।
भूमि व्यवस्थापनअन्तर्गत भूमिहीन र सुकुम्बासी समस्याको दिगो समाधानका लागि ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’ नीति अवलम्बन गरिने उल्लेख छ। बाँझो जमिनको सदुपयोगका लागि ल्याण्ड बैंक व्यवस्था तथा ऐलानी जग्गाको नापी–नक्सा अभिलेखीकरण गरिने बताइएको छ।
महिला, बालबालिका तथा सामाजिक सुरक्षातर्फ आमाको नामबाट नागरिकता लिँदा हुने झन्झटिलो प्रक्रिया सरल बनाउने, महिला कृषि कर्जा कार्यक्रम लागू गर्ने, २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्ने तथा हिंसापीडित महिला तथा बालबालिकाका लागि सेफ हाउस स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
पर्यटन, उद्योग र खेलकुद क्षेत्रमा सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन, गौरीगञ्ज भन्सारलाई पारदर्शी रूपमा सञ्चालन, बहुआयामिक खेलकुद एकेडेमी निर्माण तथा दमक गोल्डकपलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना वाचा पत्रमा समेटिएको छ।
सुशासनतर्फ अनलाइन गुनासो दर्ता प्रणाली, सार्वजनिक कार्यको डिजिटल ड्यासबोर्ड सञ्चालन तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ।
उम्मेदवार शाहले जनअपेक्षाअनुसार परिणाममुखी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै मतदाताको विश्वासलाई व्यवहारमा उतार्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्