काठमाडौँ । केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्षसमेत रहेका ओलीले किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको आकांक्षा बोकेर आन्दोलनमा होमिएको स्मरण गरेका हुन् । पञ्चायती व्यवस्था र राजतन्त्र अन्त्य गर्ने सङ्कल्पका साथ राजनीतिमा सक्रिय भएको उल्लेख गर्दै उनले लक्ष्य प्राप्त नभएसम्म संघर्ष नछाड्ने अठोटका साथ अघि बढेको बताए ।
उनका अनुसार पञ्चायतविरुद्धको आन्दोलनका क्रममा जेल सजाय, यातना र विभिन्न दमनका बाबजुद पनि आफ्नो अडान नडगमगिएको थियो । राजतन्त्र र पञ्चायत अन्त्य नगरेसम्म विश्राम नलिने अठोटका साथ संघर्ष जारी राखेको उनको भनाइ छ ।
ओलीले सानो आधारबाट सुरु गरेर एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको र त्यो पूरा गर्न सफल भएको दाबी गरे । नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरे पनि त्यसलाई सहन नसक्ने शक्तिहरूले विभाजन गराएको उनको गुनासो थियो ।
आफूमाथि लाग्ने ‘जिद्दी’ आरोपबारे स्पष्ट पार्दै उहाँले गलत वा नराम्रो काममा कहिल्यै अडान नलिने तर सही कुरामा भने दृढ रहने गरेको बताए । संघर्षशील जीवन सहज नहुने भए पनि सही उद्देश्यका लागि गरिएको संघर्षको अन्त्य सकारात्मक हुने उनको तर्क छ ।


प्रतिक्रिया दिनुहोस्