काठमाडाैँ । पछिल्लो सुरक्षा अवस्था दृष्टिगत गर्दै वीरगञ्ज महानगरपालिकाभित्र आज बिहान ९ः४५ बजेबाट अर्को सूचना नआएसम्मका लागि कर्फ्यू लागू गरिएको छ।
प्रमुख जिल्ला अधिकारीको कार्यालयले जारी गरेको आदेश अनुसार महानगरपालिकाभित्र चार किल्ला तोकी सो सिमानाभित्र कुनै पनि व्यक्तिले आवत-जावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पाउने छैन।
कर्फ्यूको तोकिएका सीमा यस प्रकार छन्: पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट। आदेश अनुसार सामान्य जनजीवनमा रोक लागे पनि केही अत्यावश्यक सेवाका सवारी साधनलाई छूट दिइएको छ।
यसमा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, विश्वविद्यालय परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार र कूटनीतिक नियोगका सवारी साधन र हवाई यात्रु समावेश छन्।
यी सवारी साधनको आवागमन सुरक्षाकर्मीको सहजीकरणमा हुनेछ। प्रहरी र प्रशासनले जनतालाई कर्फ्यूको पालना गर्न, असुरक्षित क्षेत्र प्रवेश नगर्न र कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्