काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले १४ बुँदामा काठमाडौँ ५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
आफूले २०७९ सालमा सांसदका रुपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा इमानदारीपूर्वक प्रयास गरेको भन्दै उनले रिङ रोड दोश्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुशी टोखा सडक, विष्णुमती करिडोर, साङ्लेखोला करिडोर लगायतका रणनीतिक काम अघि बढेको उल्लेख गरेका छन् । उनले मेलम्ची खानेपानी रिङरोड बाहिर विस्तार तथा नयाँ लाइन निर्माणका कामसमेत भएको उल्लेख गरेका छन् ।
पौडेलको प्रतिबद्धतामा क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कूल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी तथा तामाङ तथा मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ । सार्वजनिक निजी साझेदारीमार्फत विद्यालयहरूमा प्रविधिमैत्री अध्ययनको वातावरण तयार गर्न सम्बद्ध पक्षसँग सहकार्य गरिने उनको प्रतिबद्धता छ ।
उनले सबैलाई स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरासमेत वृद्धि गर्न आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा पहल गर्ने बताएका छन् ।
पौडेलले क्षेत्र ५ लाई मेडिकल हबका रुपमा विकास गर्दै क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालहरूको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले आफू स्वास्थ्य मन्त्री हुँदा उद्घाटन गरेको राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठलाई अत्याधुनिक, व्यवस्थित र थप प्रभावकारी बनाउनेसमेत उल्लेख गरेका छन् ।
पौडेलले आफ्नो प्रतिज्ञापत्रमार्फत संघीय संसदमार्फत व्यवसायमैत्री कानून निर्माणका लागि विशेष पहल गर्ने भन्दै झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रियाको अन्त्य गर्न नीति बनाउन सहजीकरण गर्ने उल्लेख गरेका छन् ।
‘हाम्रा युवा जनशक्तिलाई विश्व प्रविधि बजारसँग प्रतिस्पर्धा गर्न एआई, डिजिटल मार्केटिङजस्ता विषयमा उच्चस्तरीय शैक्षिक तालिमको प्रबन्ध गर्दै क्षेत्रलाई डिजिटल इनोभेसन हबका रुपमा आवश्यक नीति र पूर्वाधार तयार गरिनेछ,’ उनले भने ।
पौडेलको प्रतिज्ञा पत्रमा भूमिविहीनहरूको पहिचान गरी लालपूर्जा वितरणको कार्यलाई गति दिने लगायतका विषय समेटिएको छ । पौडेलले काठमाडौँ ५ अन्तर्गत पर्ने हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, टुँडाल, धुम्बाराही, अजिमा लगायतका ऐतिहासिक क्षेत्रलाई खुला संग्रहालय तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै भ्याली सिटी टुरमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।
टोखाको बिस्का नखः, पाँहाचर्हे तथा हाँडीगाउँको चोखःते नारायणजात्रा जस्ता सांस्कृतिक परम्पराको ब्राण्डिङ गर्दै पर्यटकीय लाभ लिन पहल गर्ने प्रतिबद्धता उनको प्रतिज्ञा पत्रमा छ । क्षेत्रको टुकुचा, धोबिखोला, सामाखुसी र साङ्ला खोलाजस्ता ढल समस्याको समाधानका लागि उचित व्यवस्थापन गर्दै सहरी क्षेत्रमा ढुबान समस्या समाधानका लागि स्ट्रोमा वाटर ड्रेनेजको व्यवस्था गर्ने पौडेलको प्रतिवद्धता छ ।
सहरी क्षेत्रभित्र सबैका लागि व्यवस्थित सार्वजनिक पार्क र खुल्ला र सुरक्षित सडकको अवधारणा समेत उनले प्रतिज्ञा पत्रमार्फत सार्वजनिक गरेका छन् । उपत्यकाभित्रका सार्वजनिक यातायातलाई व्यवस्थित गर्न तीनै तहसँगको सहकार्यमा मास ट्रान्सपोर्टेसन प्रणाली, साझा डिजिटल भुक्तानी, रुट व्यवस्थापन तथा रियल टाइममा आधारित जानकारी दिने प्रविधि आदिमा काम गर्ने प्रतिबद्धता पौडेलले जनाएका छन् ।
पौडेलले टोखा छहरे सुरुङमार्ग र रसुवा केरुङ राजमार्गलाई व्यापारिक लाइफलाइनको रुपमा विकासका लागि पहल गर्ने प्रतिज्ञा पत्रमा उल्लेख गरेका छन् । साथै, चक्रपथ विस्तार, नारायण गोपाल चोकमा अण्डरपास तथा फ्लाइओभर, सामाखुशी विष्णुमति करिडोरमा आफूले थालेको सडक विकासको स्तरोन्नतिलाई समेत पौडेलले प्रतिबद्धता जनाएका छन् ।
उनले डिजिटल रुपान्तरणका लागि सरकारी निकायबीच प्रभावकारी समन्वयका लागि इन्टर अपरेबल डेटा एक्चेन्ज लेयस अनिवार्य गर्न नीतिगत व्यवस्थाको प्रतिबद्धता जनाउँदै नेपाली प्रविधि कम्पनीलाई विश्व जारमा व्यवसाय विस्तारका लागि कानूनी सुनिश्चितता प्रदानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले विश्व विद्यालयहरूमार्फत अनुसन्धान र विकासलाई प्रोत्साहन गर्ने, आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी नीति निर्माणको नेतृत्व लिने र नेपालकै लार्ज ल्यांग्वेज मोडल विकासका लागि पूर्वाधार बनाउन आफ्नो पहल रहने प्रतिवद्धता जनाएका छन् ।
सार्वजनिक जग्गाको संरक्षणका लागि पहल गरेर गंगालाल हृदय केन्द्रसहित केही जग्गा फिर्ता गराउन पहल गरेका पौडेलले सार्वजनिक जग्गाहरूको पहिचान लगत तयार पारी पार्कसहितका पूर्वाधारमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
धनेश्वर खेल मैदानलाई राष्ट्रियस्तरको मैदानका रुपमा स्तरोन्नति गर्ने र भूत्हया दह क्षेत्रको एक सय १४ रोपनी सरकारी जग्गामा पिकनिक स्पट र ध्यान साधना केन्द्रका रूपमा विकास गर्ने पौडेलको प्रतिबद्धता छ ।


प्रतिक्रिया दिनुहोस्