आइपिओ निष्काशन गर्ने तयारीमा गोर्खाज हिमालयन हाइड्रो


काठमाडौँ । हाइड्रो कम्पनीहरूले आईपीओमार्फत पूँजी संकलनको तयारी तीव्र पारिरहेका बेला गोर्खाज हिमालयन हाइड्रो लिमिटेड ले पनि सर्वसाधारणमा सेयर निष्कासनको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत सेयर सार्वजनिक गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो।

कम्पनीको फागुन १० गते बसेको सञ्चालक समिति बैठकले फागुन २६ गते बिहान १० बजे काठमाडौंको पुतलीसडकस्थित रजिस्टर्ड कार्यालयमा साधारण सभा गर्ने निर्णय गरेको जनाएको छ। सभाबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई समान १०–१० प्रतिशतका दरले आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरिनेछ।

सर्वसाधारणतर्फ छुट्याइएको सेयरभित्रै पनि प्राथमिकता वर्गीकरण गरिएको छ। त्यसअनुसार विदेशमा रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत, कम्पनीका कर्मचारीका लागि ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत सेयर सुरक्षित गरिनेछ।

आईपीओमार्फत जुट्ने रकमको उपयोग योजना अनुमोदन गर्नुका साथै नियामक निकायबाट कुनै संशोधन वा निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा लैजाने तयारी कम्पनीले गरेको छ।

ऊर्जा क्षेत्रमा लगानी विस्तारको लहरबीच यो कम्पनीले पनि पूँजी बजार प्रवेशको ढोका खोलेसँगै आगामी दिनमा आईपीओ पाइपलाइनमा थप जलविद्युत् कम्पनीहरू थपिने संकेत देखिएको छ।