काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्वच्छ तथा निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने तथा मत प्रभावित हुने खालका सामग्री प्रसारण–प्रकाशन नगर्न आग्रह गरेको छ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा निर्वाचनका बेला पत्रकारिता क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सो भूमिकालाई थप निष्ठा, जिम्मेवारी र मर्यादाका साथ निर्वाह गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा राज्यका अन्य निकायसरह सञ्चार जगत्को पनि निर्वाचन सफल बनाउन विशेष दायित्व रहने उल्लेख गर्दै स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न आग्रह गरिएको छ। साथै आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न पनि काउन्सिलले सञ्चारमाध्यमलाई सचेत गराएको छ।
त्यस्तै, निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्ने गतिविधि तथा मत प्रभावित गर्ने सामग्री सम्प्रेषण नगर्न–नगराउन आमसञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता लगायत सबै सम्बद्ध पक्षलाई काउन्सिलले अनुरोध गरेको छ।
काउन्सिलले आमसञ्चारमाध्यमको नियमित अनुगमन भइरहेको जनाउँदै विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का सन्दर्भमा पनि पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए–नभएको विषयमा विशेष निगरानी गरिरहेको जनाएको छ।
विज्ञप्तिमा प्रेस स्वतन्त्रताको नाममा प्रसारित सामग्रीबाट कसैलाई लाभ वा हानि पुग्न सक्ने उल्लेख गर्दै तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिता पेसामा आबद्ध सञ्चारमाध्यम र पत्रकारहरू यस ऐतिहासिक अवसरमा अझ बढी जिम्मेवार, मर्यादित र उत्तरदायी बन्नुपर्नेमा जोड दिइएको छ।


प्रतिक्रिया दिनुहोस्