काठमाडौं । ऊर्जा क्षेत्रमा विस्तार योजनासहित अघि बढिरहेको ठुलो खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर जारी (आइपिओ) गर्ने तयारी औपचारिक चरणमा पुर्याएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न तेस्रो वार्षिक साधारण सभा (एजिएम) बोलाएको छ।
कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले चैत ३ गते बिहान ११ बजे काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउने तथा आवश्यक सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव प्रस्तुत गरिनेछ।
एजीएममा कम्पनीको सेयर संरचना पुनर्संरचना गर्ने, नयाँ जलविद्युत् परियोजना पहिचान गरी लगानी विस्तार गर्ने तथा स्वतन्त्र सञ्चालकसहित सञ्चालकहरूको निर्वाचन अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।
ऊर्जा क्षेत्रमा हाल नयाँ परियोजनाको वित्तीय स्रोत जुटाउन आईपीओ मुख्य विकल्प बन्दै गएको अवस्थामा ठूलो खोला हाइड्रोपावरले पनि सर्वसाधारण पुँजी भित्र्याउने तयारी थालेको हो। आईपीओमार्फत पूँजी संरचना सुदृढ गर्दै थप आयोजना विकासमा लगानी गर्ने कम्पनीको योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्