स्याङ्जा–२ मा डुमेको प्रतिबद्धता: सुशासनदेखि कृषि र रोजगारीसम्म प्राथमिकता दिने


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार झविलाल डुमेले आफ्नो निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेका छन्।

आगामी संघीय निर्वाचनलाई लक्षित गर्दै उनले सुशासन, कृषि सुधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार तथा पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

उम्मेदवार डुमेले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधता र सहअस्तित्वको भावनालाई आत्मसात् गर्दै स्याङ्जा क्षेत्र नं. २ को समग्र विकासका लागि नीतिगत पहल गर्ने बताए। उनले ग्रामीण विकास विज्ञ तथा सूचना प्रविधि उद्यमीको रूपमा आर्जन गरेको अनुभव जन्मभूमिको सेवामा प्रयोग गर्ने उल्लेख गरे।

उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। संसदीय बहस, नीतिनिर्माण र कानून संशोधनका प्रत्येक चरणमा जनताका मुद्दालाई प्राथमिकता दिने तथा नियमित रूपमा सार्वजनिक सुनुवाइमार्फत प्रगति विवरण प्रस्तुत गर्ने उनले बताए।

कृषि क्षेत्र सुधारका लागि माटो परीक्षणका आधारमा उत्पादन प्रवर्द्धन, स्याङ्जालाई सुन्तला र कोदोको विशेष उत्पादन क्षेत्रका रूपमा विकास, कृषि एम्बुलेन्स सञ्चालन, सङ्कलन केन्द्र तथा चिस्यान गृह स्थापना, मूल्य अभिवृद्धि उत्पादन र बजारीकरणमा नीतिगत सहयोग गर्ने योजना उनले अघि सारे। साथै जडीबुटी उत्पादन तथा बाँदर आतंक नियन्त्रणका लागि वैज्ञानिक तथा प्रविधिमैत्री उपाय अवलम्बन गरिने उनको भनाइ छ।

शिक्षातर्फ सरकारी विद्यालयको स्तरोन्नति, प्लस टुसम्म शिक्षा विस्तार, छात्रवृत्ति कार्यक्रम सुदृढीकरण तथा प्रत्येक पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्न पहल गर्ने उनले बताए। शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्न पनि आवाज उठाउने प्रतिबद्धता जनाइएको छ।

स्वास्थ्य सेवामा स्याङ्जामा कम्तीमा एक सुविधासम्पन्न अस्पताल स्थापना, अस्पतालहरूको स्तरोन्नति, स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन तथा टेलिमेडिसिन सेवा विस्तारका लागि पहल गर्ने उनको योजना छ।

युवा तथा रोजगारीतर्फ स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन, आईटी तालिममार्फत रिमोट वर्क र फ्रिल्यान्सिङमा जोड, सीपमूलक तालिम विस्तार तथा स्टार्टअप र उद्यमशीलतालाई नीतिगत समर्थन गर्ने प्रतिबद्धता जनाइएको छ।

पर्यटन र संस्कृति प्रवर्द्धनका सन्दर्भमा कालीगण्डकी, आँधीखोला लगायत नदी सभ्यताको संरक्षण, पर्यटकीय क्षेत्रको म्यापिङ र प्रचारप्रसार तथा सिद्धार्थ राजमार्ग हुँदै आवतजावत गर्ने पर्यटकलाई स्याङ्जाका धार्मिक तथा पर्यटकीय क्षेत्रतर्फ आकर्षित गर्ने योजना अघि सारिएको छ।

सडक तथा पूर्वाधारतर्फ मुख्य सडक स्तरोन्नति, सहायक सडक सुधार, सिँचाइ आयोजनामा बजेट सुनिश्चितता, “एक घर, एक धारा” अभियानमार्फत स्वच्छ खानेपानी विस्तार तथा खेलकुद पूर्वाधार विकासमा जोड दिने उनले बताएका छन्।

उम्मेदवार डुमेले स्याङ्जा–२ मा जनसम्पर्क कार्यालय स्थापना गरी नागरिकका गुनासा प्रत्यक्ष सम्बोधन गर्ने तथा नियमित संवाद संयन्त्र विकास गर्ने प्रतिबद्धता जनाएका छन्।