काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रकाशित तथा प्रसारित सामग्रीमाथि निगरानी कडा बनाएको जनाएको छ । आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवर्धन एकाइले हानिकारक सूचनाको अध्ययन गरी सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गरिरहेको जनाएको हो ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार हालसम्म एकाइमा ६ सय १२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी दर्ता भएका छन् । ती उजुरीको व्यवस्थापन तथा सामग्री हटाउन आयोगले सम्बन्धित निकायमा पत्राचार गर्दै आएको र केही सामग्री हटाइसकिएको उनले जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३ सय ३६ वटा सामग्री हटाउन पत्राचार गरिएकोमा हालसम्म १ सय २९ वटा सामग्री हटाइएको छ । त्यसैगरी वेबसाइट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण लाई निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो ।
ती वेबसाइटहरूले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक तथा अनुमानित सूचना सार्वजनिक गरेको पाइएकोले ब्लक गर्न सिफारिस गरिएको आयोगले जनाएको छ । प्राधिकरणले ती वेबसाइटहरू ब्लक गरिसकेको जानकारी दिइएको छ ।
यस्तै, प्रेस काउन्सिल नेपाल मा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको घिमिरेले बताउनुभयो । निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको र सम्बन्धित व्यक्तिहरूले तोकिएको समयसीमाभित्र स्पष्टीकरण पेश गरिरहेको उनको भनाइ छ । जिल्लास्तरमा गठित अनुगमन समितिहरूले पनि आचारसंहिता कार्यान्वयनका लागि सक्रियतापूर्वक काम गरिरहेको आयोगले जनाएको छ ।
निर्वाचन अवधिभर आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण र हानिकारक सूचना हटाउने कार्यलाई निरन्तरता दिइने आयोगले स्पष्ट पारेको छ ।
आचारसंहिता पालना गराउन आयोगले कडाइ गरिरहेको उल्लेख गर्दै घिमिरेले निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जना नगर्न, बालबालिकाको प्रयोग नगर्न, निर्वाचन चिन्हको भौतिक प्रयोग नगर्न, शिक्षक तथा कर्मचारीलाई प्रचारप्रसारमा सहभागी नगराउन र स्थानीय जनप्रतिनिधिलाई आफ्नो कार्यक्षेत्रमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिइएको जानकारी दिए । आचारसंहिता उल्लङ्घन गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्