बैङ्क खातामार्फत मात्रै निर्वाचन खर्च गर्न आयोगको चेतावनी, उल्लङ्घन गरे कारबाही गर्ने


काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन खर्च बैङ्क खातामार्फत नगर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगले बैङ्क खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आधारमा प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको हो ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिताको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्दाकै समयमा आफ्नो अनुमानित निर्वाचन खर्च र त्यसको स्रोत खुलाउनुपर्ने प्रावधान छ ।

उम्मेदवारले निर्वाचन खर्च सञ्चालनका लागि बैङ्कमा छुट्टै खाता खोल्नुपर्ने, उक्त खाता सञ्चालनका लागि छुट्टै पदाधिकारी तोक्नुपर्ने तथा खातामा आएको सम्पूर्ण रकम र गरिएको खर्चको बिल–भरपाई सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिए। २५ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत मात्रै कारोबार गर्नुपर्ने व्यवस्था रहेको पनि उनले बताए।

हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैङ्क खाता सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ । खाता सञ्चालन गर्ने राजनीतिक दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् ।

यता नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका ठूला राजनीतिक दलहरूले भने हालसम्म निर्वाचन खर्चका लागि बैङ्क खाता सञ्चालनमा नल्याएको आयोगले जनाएको छ ।

निर्वाचन खर्चलाई पारदर्शी र प्रभावकारी बनाउन आयोगले बैंक खातामार्फत मात्रै खर्च गर्न आग्रह गरेको छ । आयोगले बैंक खाता सञ्चालनसम्बन्धी कार्यविधि पनि लागू गरिसकेको छ । कार्यविधिअनुसार प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

अनुगमन अधिकृतलाई राजनीतिक दल तथा उम्मेदवारले गरेको खर्च, खर्चको स्रोत तथा सार्वजनिक सम्पत्तिको प्रयोग भए–नभएको विषयमा जानकारी सङ्कलन गर्ने र पेश गरिएको विवरणको निगरानी गर्ने जिम्मेवारी दिइएको घिमिरेले बताए ।

आयोगले तोकेको व्यवस्था उल्लङ्घन गरी बैङ्क खाताबाहिरबाट खर्च गरेमा निर्वाचन आचारसंहिताअनुसार कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ ।