स्याङ्जामा लागूऔषधसहित दुई युवक पक्राउ


काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको विशेष अपरेसन टोलीले सवारी साधन चेकजाँचका क्रममा लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

गत फागुन १२ गते दिउँसो करिब ३ः३० बजे अर्जुनचौपारी गाउँपालिका–१ स्थित चिरोचोकमा चेकजाँच भइरहेको बेला ना. ३२ प ८२५९ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट लागूऔषध फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अर्जुनचौपारी गाउँपालिका–१ बस्ने २९ वर्षीय उत्तम बहादुर थापामगरको साथबाट डाइजापाम इन्जेक्सन ५ एम्पुल, फेनेरगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल गरी जम्मा १५ एम्पुल लागूऔषध बरामद गरिएको छ। साथै घटनामा प्रयोग गरिएको पल्सर मोटरसाइकल र दुई थान मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई लागूऔषध सम्बन्धी कसुरमा फागुन १३ गते स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिबारे पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ।