ऐतिहासिक हिमआँधीले ‘द बोस्टन ग्लोब’को दैनिक छपाइ स्थगित


काठमाडाैँ । अमेरिकामा आएको कीर्तिमानी हिमआँधीका कारण प्रतिष्ठित दैनिक पत्रिका द बोस्टन ग्लोब ले आफ्नो इतिहासमै पहिलोपटक दैनिक मुद्रण स्थगित गरेको छ। व्यवस्थापनले सोमबारको भीषण आँधीका कारण मंगलबारको संस्करण छाप्न र वितरण गर्न असम्भव भएको भन्दै मुद्रण रोक्ने निर्णय गरेको हो।

पत्रिकाले आफ्नो वेबसाइटमा प्रकाशित समाचारमा उल्लेख गरेअनुसार १५३ वर्षभन्दा बढी समयदेखि प्राकृतिक विपत्ति, प्राविधिक समस्या र विश्वव्यापी महामारीजस्ता चुनौती पार गर्दै आएको ‘द बोस्टन ग्लोब’ले यसपटक भने असाधारण परिस्थितिका कारण मंगलबारको छापा संस्करण स्थगित गर्नुपरेको जनाएको छ। मंगलबारको अंक बुधबारको संस्करणसँगै ग्राहकलाई वितरण गरिने बताइएको छ।

बोस्टन ग्लोब मिडियाका प्रिन्ट अपरेसन उपाध्यक्ष जोश रसेललाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “यो निर्णय हामीले हल्का रूपमा लिएका छैनौं। आज राति कर्मचारी उपस्थित भए पनि पत्रिका सुरक्षित रूपमा ट्रकमा ढुवानी गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छैनौं। अन्तिम वितरण चरण नै सम्भव देखिएन।”

हिमपात र तीव्र हावाहुरीका कारण कर्मचारीहरू सुरक्षित रूपमा मुद्रण केन्द्रसम्म पुग्न नसकेको जनाइएको छ। म्यासाचुसेट्स राज्यको ब्रिस्टल काउन्टीस्थित टाउनटनमा रहेको ग्लोबको मुद्रण केन्द्र आसपास सोमबार रातिसम्म ३२ इन्चसम्म हिमपात मापन गरिएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ।

आँधीको असर सोमबारकै वितरणमा पनि परेको थियो । पत्रिकाका अनुसार केवल २५ प्रतिशत प्रतिमात्रै ग्राहकसम्म पुग्न सकेका थिए।

सन् १८७२ मा स्थापना भएको ‘द बोस्टन ग्लोब’को दैनिक उत्पादन व्यवस्थापनले रोक्ने निर्णय गरेको यो पहिलोपटक हो। यसअघि १९५० र १९६० को दशकमा श्रमिक आन्दोलनका कारण केही समय मुद्रण अवरुद्ध भएको थियो।

यसअघि सन् १९७८ को फेब्रुअरी ७ मा आएको अर्को ऐतिहासिक हिमआँधीका बेला पनि ग्लोबले केही हजार प्रतिमात्रै छापेको थियो। तर भारी हिमपातका कारण वितरण ट्रकहरू भवनबाट केही माइलभन्दा टाढा जान नसक्दा ती प्रतिहरू पनि पाठकसम्म पुग्न सकेका थिएनन्।

उक्त हिमआँधीले छिमेकी रोड आइल्याण्ड राज्यमा पनि नयाँ कीर्तिमान कायम गरेको छ। वार्विकस्थित टी।एफ। ग्रीन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ३८ इन्च हिमपात मापन भएको छ, जसले सन् १९७८ कै रेकर्ड तोडेको बताइएको छ।