काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगका अनुसार फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यक सेवाबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट उक्त निर्णय गरेको हो।
बैठकले मतदानको दिनमा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतमा प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन तथा पास प्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
त्यसैगरी, मतदानको मितिभन्दा सात दिनअघि देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादकपदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने निर्णय भएको छ।
सो निर्णय कार्यान्वयनका लागि गृहमन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भएमा तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले समग्र सुरक्षा योजनाको समीक्षा गर्दै सुरक्षाको वर्तमान अवस्थाको आकलनसमेत गरेको छ। बैठकका निर्णयअनुसार फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
आयोगका अनुसार मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत् सञ्चालन हुनेछन्। हवाई टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा होटलसम्म तथा घर वा होटलदेखि विमानस्थलसम्म निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाइएको छ।
यसैगरी, निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ बमोजिम निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमाना बन्द गर्ने व्यवस्था मिलाउन पनि आयोगले गृहमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ।
मतदानका क्रममा मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमति पत्रमध्ये कुनै एक कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
सो विषयमा मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी तथा सरोकारवाला सबैलाई सूचना सम्प्रेषण गर्न निर्देशन दिइएको छ।
मतदानको दिन आवश्यक सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा सवारी पास वितरण इकाई स्थापना गरिनेछ। उक्त इकाईमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि कर्मचारी रहनेछन्।
आयोगले निर्णय कार्यान्वयनमा आवश्यक सहजीकरण र समन्वयका लागि सबै सरोकारवाला पक्षलाई सहयोग गर्न आग्रहसमेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्