काठमाडाैँ । गगन थापा ले निर्वाचनबारे जानाजानी संशय सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै संविधानलाई सही मार्गमा लैजान चुनाव नै एकमात्र विकल्प भएको बताएका छन्।
सुर्खेतमा आयोजित चुनावी सभामा उनले समयमै निर्वाचन सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता दोहोर्याए। संशय र अन्योलको राजनीतिलाई परास्त गर्दै निर्वाचन सफल बनाउनु अहिलेको मुख्य दायित्व भएको उनको भनाइ थियो।
थापाले भदौ २३ र २४ का घटनालाई स्मरण गर्दै राज्यको गोलीबाट अब कुनै युवाले ज्यान गुमाउन नपर्ने वातावरण बनाउने दाबी गरे। सत्ता वा शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको उनले उल्लेख गरे।
उनले २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई ‘स्वर्णिम काल’ बनाउने एजेन्डा अघि सारे। सबै नागरिकले आधारभूत आवश्यकता सहज रूपमा पाउने व्यवस्था नै आफ्नो राजनीतिक लक्ष्य भएको उनले बताए।
पाँच वर्षलाई फेरि प्रयोगको समय नबनाई परिणाम दिने अवधिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले परिवर्तनलाई नारामा सीमित नराखी व्यवहारमा उतार्ने दाबी गरे।


प्रतिक्रिया दिनुहोस्